ताजा समाचार

‘दलितमाथि विभेद गर्नेलाई कडा कारबाही’

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायले भोग्दै आएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या समाधानप्रति पूर्ण प्रतिबद्धताका साथ क्रियाशील भएको बताएका छन्।

राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा दलित अधिकार तथा सरकारको काम कारबाहीका विषयमा छलफल गर्दै प्रधानमन्त्रीले जात, वर्ण र लिङ्गका आधारमा गरिने विभेद र अन्याय सरकारका लागि सह्य नहुने बताए।
उनले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको बताउँदै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पारिने जानकारी दिए।
प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको हत्यामा संलग्नमाथि कारबाहीका लागि छानबिन प्रक्रिया अघि बढेको जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने बताए।
ती घटना छानबिनका लागि सरकारले युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ । समितिले दिने प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी प्रधानमन्त्रीले दिएका नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीले जानकारी दिइन्।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परियार र मिजारका हत्यारामाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन तथा दलित विकास समिति खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा दलितमाथि भएको विभेद अन्त्यका लागि कडा कानुन बनाउन सुझाव दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org