ताजा समाचार

आज ‘माघ १९’, त्यो कालो दिनको सम्झना…

 

काठमाडौं, १९ माघ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले कू गरी देशको शासन व्यवस्था हत्याएको दिन । आजको दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा समेत लिने गरिन्छ । २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरी मुलुकको सम्पूर्ण सत्ता हातमा लिने घोषणा गरेका थिए । प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील बनाउने र तीन वर्षभित्र चुनाव गराएर जनप्रतिनिधिलाई शासन सत्तामा फर्काउने भन्दै ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरेका थिए । सत्ता हत्याए लगत्तै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो ।

शीर्ष नेता कार्यकर्तालाई नजरबन्दमा राखिनुका साथै सञ्चारगृहलाई सैन्य नियन्त्रणमा लिएर सेन्सरसिप लागू गरिएको थियो । टेलिभिजन र एफएममा समाचार पढ्न रोक लगाइएको थियो भने ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क समेत विच्छेद गरिएको थियो । राजाको सो कदम नै राजतन्त्र अन्त्यको प्रमुख कारण मानिन्छ । राजाको सो कदमपछि क्रमश सात दल र तत्कालिन माओवादी नजिकिएका थिए । त्यसपछि चर्किएको प्रमुख दलको आन्दोलनले राजा सम्झौता गर्न बाध्य भएका थिए । संसद पुनस्थापना र संविधानसभा निर्वाचन हुँदै गणतन्त्र स्थापना भएको थियो । माघ १९ यता यो १२ बर्षको अवधिका देशमा ठूल्ठूला राजनितिक परिवर्तन भएका छन् । जनता आफैले संविधानसभाबाट आफ्नो लागि संविधान जारी गर्न सफल भएका छन् तर २ सय ४० वर्षदेखिको राजतन्त्र अन्त्य गरी ल्याएको लोकतन्त्रको सुनिश्चिता अन्यौलमा परेको चिन्ता व्यक्त हुन थालेका छन् । संविधान कार्यान्वयन ठूलो चुनौतीको रुपमा लिइएको वर्तमान अवस्थामा एक अर्काको अस्तिव्व स्वीकारेर लोकतान्त्रिक व्यवस्थाका लागि एकजुट हुनुपर्ने आवश्यकता रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org