ताजा समाचार

राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड अनिवार्य: विश्लेषक प्रा.कृष्ण पोखरेल

१) एक वा दुई सिट ल्याएका दलका सांसदले मन्त्री पद पाइरहेका छन् । यसले के–कस्ता विकृति निम्त्याउन सक्छ ?

त्यस्ता दल राजनीतिक अस्थिरताका बाहक हुन्छन् । तिनले राजनीतिक सिद्धान्त र एजेन्डा बोकेका पनि हुँदैनन् । जसका कारण आफ्नो पक्षमा सिट संख्याको धार्नी पुर्‍याएर सरकार निर्माण गर्न र स्थायित्व दिन जायज र नाजायज ‘कम्प्रोमाइज’ गर्नुपर्ने अवस्था आइरहन्छ । अघिल्लो पटक संविधानसभामा संविधान निर्माणका क्रममा एक–दुईसिटे दल भड्किने डरले थ्रेसहोल्ड राखिएन । मधेसकेन्द्रित दल त्यसै बाहिर रहेको र उनीहरूसमेत बाहिर हुँदा दुई दर्जनभन्दा बढी दल संविधान निर्माण प्रक्रियाबाट बाहिर हुने डरले त्यसो गरियो । अहिले पनि तिनै दलको सहयोगले संविधान संशोधन गर्न धार्नी पुर्‍याउनुपर्ने अवस्था आयो । यस्ता कारणले तिनको स्वार्थलाई राष्ट्रिय स्वार्थसँग कम्प्रोमाइज गर्नुपर्ने अवस्था आउनु थ्रेसहोल्ड नराख्दा आउने समस्या हो ।

२) यस्ता विकृति रोक्न थ्रेसहोल्डबाहेक अरू के–कस्ता उपाय हुन सक्छन् ?

विकृति रोक्ने मुख्य उपाय थ्रेसहोल्ड नै हो । हाम्रो संविधानले अहिले अपनाएको मिश्रित निर्वाचन प्रणाली, विनाथ्रेसहोल्डले जहिल्यै पनि त्रिशंकु (एक दलको बहुमत नहुने) संसद् बनाउँछ ।  अहिले तेस्रो या चौथो दलको भूमिका निर्णायक भएर आइरहेको छ । पहिलो र दोस्रो दलले कम्प्रोमाइज नगर्दा त्यस्तो अवस्था आउँछ । पहिलो संविधानसभामा तेस्रो दलको नेतृत्वमा दुईपटक सरकार निर्माण भयो । अहिले पनि तेस्रो दलकै नेतृत्वमा सरकार छ । समानुपातिक पद्धतिले कुनै दलको बहुमत नआउँदा निर्णायक स्थानमा तेस्रो या चौथो दल मिलाउँदा मात्रै बहुमत पुग्छ । प्रत्यक्षतर्फ एक स्थानमा जितेको दललाई थ्रेसहोल्ड आकर्षित नहुने व्यवस्था गर्न पनि सकिन्छ । त्यसो गर्न सकियो भने कुनै न कुनै क्षेत्रमा जनताले रुचाएको लोकप्रिय नेता छानिन्छ । संविधानमा समानुपातिकतर्फको सिट संख्या घटेकाले एकसिटे र दुईसिटे दलको हिजोको सम्भावनालाई घटाउँछ । तर, यो समाधान होइन । बरु कम प्रतिशतबाट भए पनि थ्रेसहोल्ड सुरु गर्नैपर्छ ।

३) थ्रेसहोल्ड लगाएर पार्टीहरू सीमित गराउँदा सीमान्तकृत समुदायको प्रतिनिधित्वमा बाधा पुग्दैन र ?

सीमान्तकृतलाई राख्न भनेर त समानुपातिक व्यवस्था गरिएकै छ । पार्टीले धेरै सिट जिते भने उनीहरूको प्रतिनिधित्व धेरै बनाउने व्यवस्था संविधानले नै गरेको छ । एक सिट जित्नेले आफू वा आफ्नी श्रीमतीलाई पठाएका छन्, यस्तो अवस्थामा कसरी सीमान्तकृतले स्थान पाए ? तसर्थ, थ्रेसहोल्ड राख्नेबित्तिकै सीमान्तकृत समुदायको प्रतिनिधित्वमा असर पर्छ भन्ने होइन । विशेष सीमान्तकृत त साना दलबाट भन्दा ठूला पार्टीबाटै पर्न सक्ने सम्भावना हुन्छ । तसर्थ थ्रेसहोल्ड राख्नैपर्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org