ताजा समाचार

समाजमा भूमिका खोज्दै अवकाश प्राप्त ‘भूपू’ सैनिक


धनगढी, २४ माघ । नेपाली सेनाको जमदार पदबाट अवकाश पाएका मदनसिंह धामी हिजोआज खेतीपातीमै समर्पित हुनुहुन्छ । अठार वर्षको उमेरमै सेनामा प्रवेश गर्नुभएका दार्चुलाका धामीसँग अवकाशपछि पनि पहिलाकै जति जोस र जाँगर छ । तर उहाँले त्यो जोसजाँगर देखाउने ठाउँ भने पाउनुभएको छैन ।

“खेतबारीमा कुटो कोदालो चलाउँदैमा समय व्यतित भइरहेको छ, अरु काम के गर्ने सोच्नै सकेको छैन,” उहाँले भन्नुभयो । अवकाशपछिको बाँकी जीवनमा सेनामा कार्यरत छँदाका जस्तै सक्रिय रहने धामीको इच्छा छ ।

बाजुराका कालुसिंह रोकाया निवृत्तिभरणको रकमले घरपरिवारको खर्च धान्न सहज भए पनि अवकाशपछिको समयको खासै सदुपयोग हुन नसकेकामा चिन्तित हुनुहुन्छ । पहाडको रुखो जमिनमा गर्दैआएको खेतीपातीबाट उहाँ सन्तुष्ट हुनुहुन्न । त्यसैले ४५ वर्षीय रोकाया अवकाशपछि समाजमा आफ्नो भूमिकाको खोजीमा हुनुहुन्छ ।

“हामीलाई अवकाशपछि गाउँ समाजको विकासमा परिचालन गरियोस्, गाउँ र टोलमा सक्दो योगदान दिन चाहन्छौँ,” उहाँले भन्नुभयो । अवकाश प्राप्त सैनिक र बहालवाला सैनिक एकैसाथ मिलेर काम गर्नसक्ने योजनाको खाँचो रहेको उहाँ बताउनुहुन्छ । नेपाली सेनामा लामो समयसम्म काम गरेको अनुभव अवकाशपछि गाउँ समाजलाई काम लाग्ने र पूर्व सैनिकलाई विकास निर्माणको कामको जिम्मेवारी दिए आर्थिक अनियमिततामा कमी आउने उहाँको भनाइ छ ।

डोटीको गोपघाटका नरबहादुर बलायर बुढेसकालमा समेत पूर्व सैनिकले समाजका लागि योगदान दिनसक्ने बताउनुहुन्छ । समाजलाई सही दिशामा डो¥याउन उचित सल्लाह आवश्यक पर्ने र सो कार्य अवकाश प्राप्त सैनिकले गर्नसक्ने उहाँको भनाइ छ ।

“समाजमा उचित सल्लाह दिने व्यक्तिको कमी छ, त्यो अभाव हामीले पूरा गर्न सक्छौँ,” कैलालीको धनगढीस्थित ५ नं बाहिनीबाट सुवेदार पदबाट अवकाश पाउनुभएका बलायरले भन्नुभयो ।

कैलालीको धनगढीमा आयोजित भूपू सैनिक सम्मेलनका सहभागीले अवकाशपछि समाजमा आफूहरुको भूमिका खोजेका छन् । उनीहरुले अवकाशपछि पनि सक्रिय भएर गाउँ समाजको विकासमा लागिपर्ने बताएका छन् । नेपाली सेनाले आफूहरुका लागि शिक्षा, स्वास्थ्य र अवकाशपछि पनि रोजगारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

“उपचारका लागि निकै कठिनाइ भोग्नु परिरहेको छ, सुदूरपश्चिममा
सुविधा सम्पन्न अस्पतालको खाँचो छ,” डडेल्धुराका भवानीदत्त पाण्डेले भन्नुभयो । भूपू सैनिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको समझदारी र सहकार्यमा २०७० सालदेखि लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो बैंकले पूर्व सैनिकलाई लघुवित्त कार्यक्रमअन्तर्गत साढे चार प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । सहुलियत दरमा ऋण पाएपछि उनीहरुले तरकारीखेती, भँैसीपालन, बाख्रापालन, कुखुरापालन, बङ्गुरपालनलगायत विभिन्न आयआर्जनका कार्य गर्दै आएका छन् ।

“सहुलियत दरमा ऋण उपलब्ध भएपछि व्यवसाय गर्न निकै सजिलो भएको छ,” रु चार लाख ऋण लिएर बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नुभएका कैलाली गेटाका जानकीदेवी बलमले भन्नुभयो – “कर्जा चुक्ता गरेर नाफा रकमबाट भैंँसीपालन समेत गर्दैआएको छु ।”

यस्तै, बैंकबाट रु चार लाख ऋण लिनुभएका बैतडीका केशवदत्त पाण्डे अहिले होटल व्यवसाय सञ्चालन गरिरहनुभएको छ । सस्तो ब्याजदरका कारण व्यवसाय गर्न सहज भएको उहाँको भनाइ छ । नेपाली सेना संयुक्त राष्ट्र सङ्घ मध्यपूर्वमा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजार रकमबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको हो । त्यसपछि मात्र नेपाली सेनामा संस्थागत रुपमा कल्याणकारी कार्यको थालनी भएको हो । हाल सो कोषमार्फत मुलुकका विभिन्न ठाउँमा कल्याणकारी कार्य सञ्चालन भइरहेको छ ।

नेपाली सेनाको कल्याणकारी कोषमा २०७३ पुस मसान्तसम्ममा रु ३९ अर्ब ४४ करोड ४२ लाख ८९ हजार रकम मौज्दात रहेको छ । नेपाली सेनाको कल्याणकारी बोेर्डले बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यका लागि विभिन्न आयआर्जनका कार्यक्रम सञ्चालन गरिरहेको प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताउनुभयो ।

बहालवाला, अवकाश प्राप्त सैनिक र पारिवारिक निवृत्तिभरणमा
रहेका समेत गरी हाल कोषका हिताधिकारीको सङ्ख्या करिब आठ लाख पुगेको छ । “हिताधिकारीको आवश्यकता र चाहनाअनुसार उहाँहरुको घरदैलोसम्म कल्याणकारी कोषको विस्तार गर्न जिल्ला, अञ्चल र क्षेत्रीय तहमा सञ्जाल विस्तार गरिएको छ,” क्षत्रीले भन्नुभयो ।

लघुवित्त कार्यक्रमबाट २०७३ पुस २१ गतेसम्ममा १५ हजार ७३१ हिताधिकारी लाभान्वित भइसकेका छन् । चालु आवको अन्त्यसम्ममा हिताधिकारीको सङ्ख्या २५ हजार पु¥याइने र रु तीन अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ । हालसम्म कोषले सहुलियतपूर्ण ब्याजदरमा रु दुई अर्ब ४५ करोड ३२ लाख आठ हजार लगानी गरिसकेको क्षत्रीले बताउनुभयो ।

“कार्यक्रम आफैें छनोट गर्छन्, त्यही अनुसार ऋण रकमको माग गर्ने गरेका छन्, सेनालाई स्वरोजगारका साथै अवकाशपछि पुनः रोजगारका लागि विकल्पको रुपमा नेपाली सेना कल्याणकारी बोर्डले सेक्युरिटी तथा म्यानपावर कम्पनीको अवधारणा अगाडि बढाउन लागेको छ,” क्षत्रीले भन्नुभयो । सुस्त मनस्थितिका बालबालिकालाई आजीवन निःशुल्क औषधि उपचार तथा काजकिरिया खर्च रु १० हजारबाट बढाएर रु २५ हजार पु¥याइएको उक्त अवसरमा जानकरी गराइयो ।

लघुवित्त कार्यक्रम सर्वप्रथम २०७० सालमा कैलालीको धनगढीबाट सुरु गरिएको हो । आयआर्जनको क्षेत्र विस्तार गर्न बोर्डले कल्याणकारी कोषको लगानी नीति तर्जुमा गर्न सुरु गरेको छ । विगत तीन वर्षको अवधिमा नेपाली सेनाले पाँचवटै विकास क्षेत्रमा भूतपूर्व सैनिक सम्मेलन गरेको र सो सम्मेलनमार्फत करिब ३८ हजार पूर्व सैनिकसँग प्रत्यक्ष रुपमा छलफल र अन्तक्र्रिया गरिएको नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत अवकाश प्राप्त रथी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

नेपाली सेनाको धनगढीस्थित ५ नं बाहिनीमा गरिएको दुई दिने भूपूसैनिक सम्मेलनमा सुदूरपश्चिमका एक हजार ७०७ भूपू सैनिकको सहभागिता रहेको नेपाली सेनाको सुदूरपश्चिम पृतनालयका पृतनापति उपरथी दीपक भारतीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम सम्मेलनबाट विभिन्न रचनात्मक सुझाव प्राप्त भएका र त्यही अनुसार हिताधिकारीको घरदैलोमा शिक्षा, स्वास्थ्य र स्वरोजगारका कार्यक्रम पु¥याइने उहाँले बताउनुभयो । उहाँका अनुसार फिल्ड एम्बुलेन्सलाई सुविधा सम्पन्न बनाइनुका साथै धनगढीमा आगामी आर्थिक वर्षदेखि नेपाली सेनाले उच्च माविसम्मको पढाइ सञ्चालन गर्न लागेको छ ।

अवकाश प्राप्त सैनिकको आयआर्जनका लागि सहुलियत ब्याजमा व्यक्तिगत रु एक लाखदेखि सामूहिक रुपमा रु एक करोडसम्म ऋण उपलब्ध गराउँदै आएको छ । मुलुकभर नेपाली सेनाबाट अवकाश प्राप्त सेनाको सङ्ख्या करिब ६८ हजार रहेको छ । बहालवाला सैनिकको सङ्ख्या भने ९६ हजार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.