ताजा समाचार

यस्ता छन् प्रेमका चौबीस नियम

 

काठमाडौं ।  जसले प्रेम गरे उनीहरूले नियम जानेर वा मानेर कहिल्यै प्रेम गरेनन् । प्रेममा परुन्जेल उनीहरूलाई लाग्यो, प्रेमको न त परिभाषा हुन्छ न यो नियममै बाँधिन्छ । जब कोही प्रेमबाट बाहिर हुन्छ र उसले प्रेम गर्नेहरूको जीवनलाई अध्ययन गर्न थाल्छ, उसले आफूलाई कुनै न कुनै नियममा बाँधिएको पाउँछ । केही वर्ष यता प्रेमी–प्रेमिकासँग गरिएको कुराकानी, लेखिएका कथा तथा संसारका राम्रा पुस्तकका आधारमा भन्नुपर्दा प्रेम निस्स्वार्थ त हुन्छ तर यो नियमभित्र रहेर निस्वार्थ हुन्छ । यो आनन्ददायक त हुन्छ तर एउटा सीमामा पुगेपछि त्यसको अन्त्य हुन्छ ।

 

प्रेमस्वार्थरहित त हुन्छ तर थाहै नपाइ त्यो स्वार्थमा परिसकेको हुन्छ । अध्ययन गर्दै जाँदा थाहा हुन्छ, यो संसारमा जतिपनि प्रेमी छन्, त्यति नै प्रेमका कथा छन् । अनि जति प्रेमका कथा छन्, त्यसका त्यति नै नियम छन् । त्यसो त सबै नियमका अपवाद हुन्छन् । प्रेमका नियमका पनि अपवाद हुनु स्वभाविक हो । कोहीप्रेमका कुनै नियमसँग सहमत छैनन् भने त्यो उसका लागि अपवाद हुनसक्छ भनेत्यही अपवाद कसैका लागि नियम बन्न सक्छ ।

१.    विगत रमाइलो हुन्छ यादले, बालापनको सम्झनाले   भविष्य सुन्दर हुन्छ विज्ञानले, विज्ञानले दिने सुविधाले तर अहिलेको कुरा अर्कै छ साथी वर्तमानमा खुसी न त विज्ञानले दिन्छ, न विगतको सम्झनाले
वर्तमान उज्यालो हुन्छ, केवल प्रेमले, उनको सामिप्यले ।

२.    प्रेमको तरंग बिर्को लागेको दुर्बिनमा देखिने दृश्यजस्तै हो । बिर्को बन्द हुँदा केही देखिँदैन, खोलेर हेर्दा टाढाको दृश्य मात्र देखिन्छ । हामी प्रेमीहरू सोफामा रहेकी प्रेमिकालाई बिर्सेर कुनै दूरदराज ठेगानामा पठाउन प्रेमपत्र लेखिरहेका हुन्छौं ।

३.    जो प्रेममा पर्छ, उसले आफूलाई युवा अनुभव गर्छ, जसको प्रेम छुट्छ, उसले बुढ्यौली अनुभव गर्छ । उमेरमा मात्र प्रेम हुन्छ भन्ने कुरा भ्रम हो । तन्नेरी अवस्थाउमेरसँग होइन, प्रेमसँग सम्बन्धित कुरा हो ।

४.    प्रेमको अदालतमा ३ सय ६४ दिन नै प्रेम बोल्छ र प्रेमले जित्छ कि भन्ने आशा जगाउँछ । वर्षको अन्तिम दिन प्रेमको साटो पैसा बोल्छ र फैसला पैसाको पक्षमा जान्छ ।

५.    आफ्नो प्रेम अमर बनाउने इच्छा छ भने कहिल्यै विवाहको सपना नदेखौं । करोडौं विवाहित जोडी गुमनाम छन् तर विवाह हुन नसकेका लैला–मजनु, मीरा–श्याम, हीर–राँझा, राधा–कृष्ण आदि इतिहासमा अमर छन् ।

६.    उनलाई कसैले ढुंगाले हान्दा आफूलाई पनि दुख्छ, यो पुरानो कुरा हो । उनलाई कसैले फूलले हान्दा आफूलाई ढुंगाले हानेभन्दा बढि दुख्छ ।

७.    पहिले, गल्लीमा केही केटा बसेर बाटो हिडिरहेकी युवतीलाई जिस्क्याउँथे र भोलिपल्ट कलेजमा शिक्षकको पिटाइ खान्थे । अहिले, फेसबुकमा अपरिचित युवतीलाई धेरै युवाले जिस्क्याउँछन् । तीमध्ये केही युवा केटीसँग माफी माग्न प्रहरी चौकी पुग्छन् ।

८.    असफल प्रेमी र हारेका जुवाडे उस्तै हुन्, जो जुवा खेल्नु र प्रेम गर्नु गलत हो भन्दै उपदेश दिन्छन् ।

९.    मोबाइल फोनमा त्यसको पूर्ण क्षमता प्रयोग नगर्दा आफूले तिरेको मूल्यको सदुपयोग हुँदैन । यता मायालाई राम्रोसँग सदुपयोग नगर्दा त्यो प्रेमको मीठो स्वाद प्राप्त गर्न सकिँदैन । माया र मोबाइल उस्तै हुन् । तपाईं जुनसुकै ब्रान्डको माया गर्नुहोस्, त्यसमा आपत्ति छैन तर त्यो मायाको पूर्ण सदुपयोग गर्न सक्नुपर्छ ।

१०. अफिस, बजार तथा बाटोघाटोमा हतारिएका मानिसहरूको ऊर्जा कहाँबाट आइरहेको छ ? प्रेमको नियमले भन्छ— त्यही मुस्कुराइरहेको एउटा अनुहारबाट… जसका लागि हरेक मानिसले आफ्ना जुत्ताको तलुवा खियाइरहेको छ ।

११.    माया गर्नेसँग झगडा गर्न मन लाग्दैन भने सम्झनुहोस्, त्यो प्रेमभित्र केही चाकडी पनि मिसिएको छ।

१२.    लिङ्गअनुसार प्रेमको नियम फरक हुन्छ । युवती : स्नेह चाहन्छे, भरोसा चाहन्छे, भविष्यको सुनिश्चितता चाहन्छे… त्यसपछि बल्ल प्रेम व्यक्तगर्छे । युवक : एक मुस्कान प्राप्त गर्नेबित्तिकै प्रस्ताव राख्न हतारिन्छ …।

१३. मेरो मुटु र मेरो धड्कन भनेर चेपारो नघस्नु मायालुलाई कुनै दिन बढी धड्कन्छ र ब्लड प्रेसर हाई हुन्छ कुनै दिन धेरै कोमल हुन्छ र प्याट्ट फुट्छ अनुभवीका कुरा सुन्नुहोस्…प्रेमका कुरा साहित्यमा मात्र
सुन्दर हुन्छन् ।

१४.    जुन व्यक्ति वाहिर परिचित छ, ऊ सायदै प्रेमी हुनसक्छ । प्रेम गर्नुको अर्थ हो, आफ्नो सम्पूर्ण परिचय कसैका लागि त्यागिदिनु ।सम्भवत: यही कारणले, महिलाले माइती छाड्छिन्, थर त्याग्छिन् नयाँ परिचय धारण गर्छिन् । चाहेर पनि कुनै पुरुष महिला जस्तो त्यागी प्रेमी हुन सक्दैन ।

१५.    जुन दिन आफू अघिको मान्छेको कुरा बुझ्न थालिन्छ, त्यही दिन उसले पनि आफ्नो कुरा बुझ्नथाल्छ।  प्रेमलाईबुझ्न भाषा होइन, अगाडिको मानिसको मौनता बुझ्नुपर्छ ।

१६.    अरूको प्रेमको नियम अस्वीकार गर्नु सामान्य हो । कारण, हरेकसँग प्रेमको आ–आफ्नै अनुभव हुन्छ । जसरी एउटा मानिसको अनुहार अर्को मानिससँग मिल्दैन । त्यसैगरी एउटाको प्रेमको परिभाषा अरू कसैसँग मिल्दैन ।

१७.    कसैको प्रेम प्रस्ताव स्वीकार गर्नुको अर्थ हो— तिम्रा विगतका कुनै पनि कुरासँग मेरो गुनासो रहने छैन ।  तिम्रा वर्तमानका सबै कुरा मेरो जीवनका अभिन्न अंग हुन् । भविष्य कसैले देखेको छै्रन । मैले भविष्य हेरेर प्रेम गरेको पनि होइन र हेर्दिनँ पनि…।

१८. प्रेम साह्रै अप्ठ्यारो र प्रतिस्पर्धामूलक खेल हो । यो खेल बहादुरहरूले मात्र खेल्न सक्छन् । मनपराउने, विवाह गर्ने र एक–दुई सन्तान जन्माउने खालको प्रेम त भारत र ब्राजिलबीचको फूटबल जस्तो मात्र हो, जसको नतिजा पहिल्यै थाहा हुन्छ । प्रेमको नियमले भन्छ, जुन खेल खेलुन्जेल रोमाञ्चक हुन्छ र परिणाम अन्तिममा पनि थाहा हुँदैन, त्यही नै प्रेम हो ।

१९. प्रेम पनि एक प्रकारको नशा हो । फरक के छ भने रक्सीको नशा केही समयपछि छुट्दै जान्छ, प्रेमको नशा अझ बढ्दै जान्छ ।

२०. प्रेमीहरूले आफ्नो हृदय सुरक्षित राख्नुपर्छ । किनभने उनीहरूमाहार्मोनको सक्रियता बढी हुन्छ । त्यही हार्मोन(केमिकल) का कारण उनीहरूमा स–साना कुराको प्रभाव तुरुन्तै पर्छ ।

२१.    दु:खमा पनि आँशु आउँछ, प्रेममा पनि आँशु आउँछ । फरक कति हुन्छ भने दु:खको आँसुमा पीडा दिनेलाई माफ गरिँदैन, प्रेममा सधैं माफ मात्र गरिन्छ ।

२२. श्रृंगारले बाहिरी रुपको सौन्दर्य निखार्छ, प्रेमले भित्री रुपको । एउटा मान्छे श्रृंगार गरेर प्रेमी–प्रेमिका भेट्न जानुको अर्थ हो, ऊ भित्री सौन्दर्य पनि निखार्न चाहन्छ ।

२३. सबै कुरामा प्रेमको नियम लागू हुन्छ तर जहाँ ‘इगो’ नामको कीटाणु प्रवेश गर्छ, त्यहाँ अपवादको नियम सुरु भैहाल्छ ।

२४. संसारका ९५ प्रतिशत मानिसले कुनै न कुनै रूपमा विश्वका ५ प्रतिशत शक्तिशाली र सम्पन्न मानिसका लागि सेवा गरिरहेका छन् — पुँजीवाद । संसारका शतप्रतिशत मानिसले कुनै न कुनै नाममा आफ्ना मायालुको सेवा गरिरहेका छन् — प्रेमवाद ।

 

प्रेम र सम्पति

  • प्रेम कमाउन इमान्दार हुनैपर्छ तर इमान्दार हुँदा सम्पत्ति कमाइन्छ भन्ने ग्यारेन्टी छैन ।
  • प्रेम दिने विषय मात्र हो यसले लिन जान्दैन तर सम्पत्ति कमाउन लेन–देन गर्नैपर्छ ।
  • प्रेम दिने मान्छे कहिल्यै प्रेमको गरिब हुँदैन, सम्पती कमाउने मान्छे धनको गरिब पनि हुनसक्छ ।
  • यी सबै कुरा हुँदा–हुँदै पनि प्रेमीसँग सम्पत्ति हुँदैन र ऊमाथि सधैं पैसाले शासन गरिरहन्छ।
  • प्रेम यहि विडम्बनाको नाम हो… ।
  • रात छोटोजस्तो लाग्छ, जसले सपना पनि प्रेमका लागि समर्पण गर्छन्,
  • रात लामो जस्तो लाग्छ, जसले सपनामा पनि प्रेमको हिसाव–किताब गर्छन् ।
  • प्रेमको जिन्दगी पनि रातजस्तै हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org