ताजा समाचार

ब्राजिल विश्वकपमा छनोट हुने पहिलो राष्ट्र

एजेन्सी ।  छनोट चरण माध्यमबाट सन् २०१८ को विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गर्ने ब्राजिल पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेमाथि ३–० को जित निकाल्दै अर्को वर्ष रसियामा हुने विश्वकपको टिकट काटेको हो । ब्राजिलले १४ खेलबाट सर्वाधिक ३३ अंक बटुल्यो । ब्राजिलले छनोट चरणको अन्तिम चार खेलअघि नै लगातार विश्वकपमा स्थान बनाएको हो । ब्राजिलका लागि फिलिप काउन्टिन्हो, नेमार तथा मार्सेलोले समान एक गोल गरेका थिए ।
अर्जेन्टिना स्तब्ध
छनोट चरणमा विश्वकपको साबिक उपविजेता अर्जेन्टिना बोलिभियासँग २–० ले पराजित भयो । हारसँगै अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोट अंकतालिकाको पाँचाँै स्थानमा रह्यो । अर्जेन्टिनाले १४ खेलबाट २२ अंक जोडेको छ । दक्षिण अमेरिकी छनोट चरणमा शीर्ष चार स्थानमा रहने टोली सीधै विश्वकपमा छनोट हुनेछन् । पाँचौँ स्थानमा रहने टोलीले प्लेअफ माध्यमबाट विश्वकपको बाटो पछ्याउनेछ ।
अर्जेन्टिना दबाबमा
अंकतालिकामा अर्जेन्टिनाभन्दा माथि कोलम्बिया, उरुग्वे तथा चिली छन् । यी तीन राष्ट्रले बाँकी खेलमा शतप्रतिशत नतिजा निकाले सीधै विश्वकपमा छनोट हुनेछन् । यस किसिमको समीकरण निस्कँदा दुईपटकको विश्वच्याम्पियन्स पाँचौँ स्थानमा रहनेछ । तर, अर्जेन्टिनाले पाँचौँ स्थान सुरक्षित गर्न बाँकी रहेका चार खेलमा आफू अनुकूल नतिजा निकाल्नुपर्ने हुन्छ । चारमध्ये एक खेलमा मात्र खराब नतिजा आउँदा अर्जेन्टिनालाई इक्वेडरले उछिन्न सक्छ । यसकारण अर्जेन्टिना चर्को दबाबमा छ ।
मेसीले चार खेल गुमाए
अर्जेन्टिनी प्लेमेकर मेसीले बाँकी चारै खेल गुमाएका छन् । गत साता चिलीविरुद्धको प्रतिस्पर्धापछि मेसीले साइड लाइन्सम्यानविरुद्ध अभद्र व्यवहार गरेपछि फिफाले मेसीलाई चार अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको हो । खेल सकिएपछि मेसीले लाइन्सम्यानसँग केही समय विवाद गरेका थिए । त्यसवेला मेसी रिसाएका देखिन्थे ।
कोलम्बिया दोस्रो स्थानमा
छनोट खेलमा कोलम्बिया इक्वेडरलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । कोलम्बियाको जितमा रियल म्याड्रिडका स्टार जेम्स रोड्रिग्वेज र जुहान काड्राडोले एक–एक गोल गरेका थिए । खेलको ६१औँ मिनेटमा डिफेन्डर साइसेडोले रातो कार्ड खाएपछि इक्वेडर दस खेलाडीमा सीमित भयो । कोपा अमेरिका फुटबलको दुईपटकको साबिक विजेता चिलीले भेनेजुएलालाई ३–१ ले हरायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org