ताजा समाचार

निर्वाचनको समयमा निकुञ्जमा उच्च सुरक्षा सतर्कता

चितवन, २८ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा स्थानीय तह निर्वाचनको समयलाई मध्यनजर गरी चोरी शिकारीका घटनाहरु हुन नदिन थप सुरक्षा सतर्कता अपनाईएको छ । गैंडा लगायतका वन्यजन्तुको तस्करी बढ्न सक्ने आशंकाले सेनाको विशेष टोलीले सुरक्षा सतर्कता अपनाएको हो ।

निर्वाचनको समयमा सुरक्षा खतरा बढ्ने र अघिल्लो महिना मात्रै गैंडाको मृत्यु भएको कारणले गर्दा निकुञ्जमा सुरक्षा सतर्कता थप मजबुत बनाईएको छ । अनाधिकृत रुपमा जंगल प्रवेशमा कडाई, व्यापक पैदल गस्ती, मोबाइल गस्ती र विभिन्न स्थानहरुमा चेकिङ पोईन्टहरु खडा गरी शंकास्पद व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम गरिएको निकुञ्जका सुचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए ।

निर्वाचनको समयमा चोरी सिकारीहरुले मौका नपाउन भनेर स्थानीय समुदायसँग मिलेर संयुक्त गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरुलाई पनि थप सक्रिय बनाईएको छ ।

नेपाली सेनाले प्रयोग गरिरहेको रियल टाईम पेट्रोल मोनिटरिङ सिस्टम भन्ने सफ्टवेयरका कारण सुरक्षा व्यवस्था मजबुत हुँदै गईरहेको छ । यो प्रविधि भनेको यस्तो ट्रयाकिङ पद्दति हो, जसबाट कुन सुरक्षा टिम कहाँ छ भन्ने कुरा निकुञ्ज प्रशासन र सेनाको अपरेशन रुमबाट लाईभ हेर्न सकिन्छ ।

यसैका कारण कुनैपनि फौजले डिउटीमा नगईकन डिउटी गरेको थिएँ भनेर झुटो बोल्न सक्दैन । सेनाले बनाएको यो सफ्टवेयरको मद्दतले समेत वन्यजन्तुको संरक्षणमा सफलता मिलिरहेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org