ताजा समाचार

मदन भण्डारी र दरबार हत्याकाण्डको रहस्य पत्ता लाग्छः एमाले अध्यक्ष ओली


काठमाडौं, ३ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मदन भण्डारी र दरवार हत्या काण्डको रहस्य पत्ता लाग्ने बताएका छन् । चितवनको दासढुंगामा २४ वर्षअघि भएको मदन भण्डारी र जीवराज आश्रतिको हत्याको रहस्य पत्ता लाग्ने दाबी गरेका हुन् ।

एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थान मदननगर बल्खुमा बुधबार २४ औं मदन आश्रति स्मृति दिवसमा बोल्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्ड र दरबारकाण्डलाई ठूला शक्तिले गरेको षडयन्त्रपूर्ण हत्याका रुपमा चित्रित गरे ।

एमालेविरुद्ध ठूल्ठुला षडयन्त्रहरु हुने गरेको भन्दै एमाले अध्यक्ष ओलीले दासढुंगा काण्डलाई त्यसैको सिलसिलाका रुपमा व्याख्या गरे । ओलीले भने, ‘मदन आश्रति हत्याकाण्ड, दरबार हत्याकाण्ड, जस्ता ठूला षडयन्त्रको रहस्य पत्ता लाग्न समय लाग्छ । तर, पत्ता लाग्छ ।’

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।पोखराबाट गाडीमा चितवनतर्फ जाँदै गर्दा भण्डारी र आश्रति चढेको गाडी त्रिशुली नदीमा खसेको थियो ।

आफ्ना नेताहरुको निधन दुर्घटनाबाट नभई षडयन्त्रबाट गरिएको भन्दै त्यसबेला एमालेले आन्दोलन गरेको थियो । विभिन्न छानविनहरुले सो घटनालाई दुर्घटना मानेपछि एमालेले अहिले २४ वर्ष बित्दासम्म यो प्रकरणबारे कुनै अनुन्धान अघि बढाएको छैन ।

यसवीचमा सरकार पुग्दा पनि एमालेले दासढुंगा काण्डबारे बोलेको थिएन । तर, एमाले अध्यक्ष ओलीले बुधबार दासढुंगा काण्डलाई पुनः ठूला शक्तिले गराएको षडयन्त्रमूलक हत्याकाण्डको संज्ञा दिँदै यसको रहस्य पत्ता लगाउने उदघोष गरेका हुन् । बुधबार २४ औं मदन स्मृति दिवस मनाइरहँदा मदनपत्नी राष्ट्रपति विद्यादेवी भण्डारी विदेशमा छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org