ताजा समाचार

भाइटीको दिन बाल गोपालेश्वर मन्दिरको मूलढोकामै पूजा गर्न पाइने

काठमाडौं, ३० असोज । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन् । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ ।

कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेलरराम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा आज बैठकमा यस्तो निर्देशन दिइएको उनले सुनाए ।

विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताए । एक करोड ४० लाख रूपैयाँको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उनले जानकारी दिए ।

यसअघि काठमाडौँ महानगरपालिकाले सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनःनिर्माण शुरु गरेपछि विभागले पुरातात्विक स्थलमा यस्ता सामग्री प्रयोग गर्न नपाउने भनी भत्काउन लगाएको थियो ।

परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने र सिमेन्ट प्रयोग भएको संरचना ७० वर्षभन्दा बढी नटिक्ने भएकाले आधुनिक निर्माण सामग्री पुनःनिर्माणमा रोक लगाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए ।

हाल विभागले नै बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनःनिर्माण गर्ने भने पनि भूकम्पको ३० महिना बितिसक्दा पनि अलपत्र छ । पानी भरिएर आकर्षक देखिने रानीपोखरी अहिले चौरमा परिणत भएको छ ।

गत असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भए पनि विभाग र काठमाडौँ महानगरपालिकाको विवादले काममा ढिलाइ भएको छ । हाल महानगरपालिकाले पुनःनिर्माणको डिजाइनको अध्ययन गरिरहेकाले काम हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org