ताजा समाचार

यू-१९ एशिया कपः तीन पटकको च्याम्पियन भारत आउट, नेपाल सेमिफाइनलमा

काठमाडौं, २८ कात्तिक । भारत एसीसी यू-१९ युथ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाटै बाहिरिएको हो । मंगलबार भएको खेलमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

डकवर्थ लेविस नियम अनुसार ३२ ओभरमा झारिएको खेलमा १९० रनको लक्ष्य पाएको बंगलादेशले २८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । बंगलादेशका लागि पिनाक घोषले सर्बाधिक ८१ रनको अविजित पारी खेले ।

यसअघि रोयल सिलांगोर क्लवको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि खेल ३२ ओभरमा झारिएको थियो । समूह ए मा बंगलादेशले शत प्रतिशत जित निकाल्दै समूह बिजेताको रुपमा सेमिफाइनलमा पुग्दा समूहमा २ जित निकालेको नेपाल ४ अंकसहित समूह उपबिजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशसँग २ विकेटले हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई ८ विकेटले हरायो । यता भारतले भने पहिलो खेलमा मलेसियालाई २०२ रनले हराए पनि नेपाल र बंगलादेशसँग पराजित भयो । यस समूहबाट भारतसँग आयोजक मलेसिया पनि समूह चरणबाटै बाहिरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org