ताजा समाचार

यु १९ एसिया कपः नेपालको फाइनल यात्रामा विश्राम, अफगानिस्तान सात विकेटले पराजित

काठमाडौं, १ मंसिर । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको हो । मलेसियाको किनरारा ओभल मैदानमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो ।

अफगानिस्तानले २०.३ ओभरमा ३ विकेट जाँदा लक्ष्य पूरा गरेको हो । अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए । इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन।

अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए । आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो ओभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह आउट भए ।

२० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पौडेललाई मुजिब उर रहमानले नै आउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।

भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए । १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए । साहब आलमले १५ बलमा ७ रन बनाए ।

समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई सेमिफाइनलमा हराउन सकेन । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org