ताजा समाचार

‘४ बर्ष भित्र १० हजार जनालाई रोजगारी दिन्छौं: विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक काफ्ले

काठमाडौं, १८ मंसिर । लामो समयदेखि बन्द रहेको मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल्स अनेकौ उतारचढावकाबिच पुरानै मेसिनको प्रयोग गरी वर्तमान संचालक समितिले केही दिनयता देखि पुनः संचालनमा ल्याएको छ ।  यसै विषयमा केन्द्रित रहेर मिल्सका प्रबन्ध निर्देशक निलहरि काफ्लेसँग गरिएको कुराकानीः

१. विराटनगर जुट मिल पुनःसञ्चालनमा आएको हो ?

अत्यन्त धेरै अप्ठ्यारा अनिअति धेरै असहयोगका वावजुद हामीले विराटनगर जुट मिल सञ्चालन गरेका छौं । अहिलेको हाम्रो टिम नेपालको औधोगिक इतिहासको प्रारम्भलाई सम्मान गर्दै संरक्षण गर्ने अनि लोप हुनलागेको जुट खेतिलाई पुनस्र्थापित गराउँदै नेपालमा सार्वजनिक उद्योग पनि निरन्तर सञ्चालन भएर देशका निमित्त योगदान पुर्‍याउन सक्षम हुन्छन भन्ने मान्यता स्थापित गराउने संकल्प लिएर जुट मिल सञ्चालनमा  ल्याएका हौं  ।

२. २०५२/५३ सालदेखि निरन्तर केही समय चल्ने अनि बन्द हुने हुँदै आएको उद्योग तपाइले पनि आफ्नो कार्यकालमा सञ्चालन गरे भन्नको लागि चलाउनु  भएको हो ?

२०५२/५३ सालदेखि नै केहि समय चल्ने अनि बन्द हुने प्रक्रिया सुरु भएको देखिन्छ, त्यसपछि अनेकन प्रयोगहरु भएका देखिन्छन्, जस्तैः कसैलाई भाडा (lease) मा दिएर चलाउने, केहि समयपछि भाडा (lease) मा लिनेले नसक्ने या आफ्नो स्वार्थपुर्ति भएपश्चात छोडेर जाने । जुट मिलका पदाधिकारीहरुले राजनैतिक पँहुच प्रयोग गरेर ऋणको नाम दिएर सरकारबाट पैसा लैजाने अनि सञ्चालनको प्रयास गर्ने तर प्रयाश सफल नहुँदै पैशा ल्याउने पदाधिकारीको पदावधी समाप्त हुने त्यो प्रक्रिया त्यँही अवरुद्ध हुने भएकै हुन् ।

ती सबै प्रयोगहरु असफल सावित भइसक्दा पनि तिनै प्रक्रियालाई पुनरावृत्ति गर्दै चलाउँछु भन्नु भनेको केही समय चलाउने अनि बन्द गर्ने भन्दा अर्को हुनै सक्दैनथ्यो । त्यसैले यो २३/२४ बर्ष केही समय चल्ने अनि तुरुन्त बन्द हुने गरेको हो । अहिले म र जुट मिलको टिमले हाम्रो पालामा चलायौं भन्नका लागि नभएर यो उद्योग रुग्ण बन्नुको कारणहरु पहिचान गरेर ती कारणहरुलाई दोहोरिन नदिई व्यवसायीक रुपमा निरन्तर सञ्चालन गर्नका लागि सञ्चालन गर्दैछौं ।

३. १९९३ सालमा स्थापना भएको नेपालको पहिलो उद्योग यसरी रुग्ण हुनुका कारण के के हुन् ?

नेपालमा सरकारी र सार्वजनिक उद्योग सञ्चालन गर्न नदिने एउटा अभियान (Mission) सञ्चालनमा छ । त्यो अभियानले नेपालका केही अपवादजन्य संख्यामा रहेका व्यक्तिहरु वाहेक सबैलाई प्रभावमा पारेको छ, त्यसरी प्रभावित भएर हामी नेपालीहरु नै नेपालका सरकारी र सार्वजनिक उद्योग समाप्त पार्न लागेका छौं । अलिकति पछाडी फर्केर हेरौं त, नेपालका हरेक वनजङ्गल र पाखापाखामा यत्रतत्र कच्चापदार्थ पाइने अनि उत्पादनको माग विश्वभरी अथाह रहेको भृकुटी कागजकारखाना, अत्यन्त नाफामुखि र दैनिक उपभोग्य सामाग्रीको लागि आवश्यक उत्पादन गर्ने उद्योग वुटवल धागो कारखाना, हरेक क्षण उपभोग भइरहने चिनि उत्पादन गर्ने उद्योगहरु बिरगंज चिनिउ द्योग, मोरङ्ग सुगर मिल जसको कच्चापदार्थ उखु लगाउनको लागि आफ्नै ९०० बिगाहा र ६०० बिगाहा जमिन छ, त्यस्ता उद्योगहरु बन्दहुनु वा गराउनुमा मुख्य रुपमा त्यहि मिसनको हात रहेको छ । बिराटनगर जुट मिलको यो  रुग्णताको प्रमुख कारण पनि त्यहि हो । धन्न, अरु उद्योग जस्तै यसको अस्तित्वनासै चाँही भइसकेको छैन र हामी क्रियाशिल भएर पुनः सञ्चालनको अवस्थामा पुर्‍याउन सफल भएका छौं ।

४. यसको पुनः सञ्चालन र पुनःस्थापनाको लागि सरकारसँग केहि पहल गरिएको छैन ?

सरकारसँग हामी नियमित सम्वादमा छौं । फेरी, सरकारबाट हुने पहल यसको पुनः सञ्चालन या पुनःस्थापनाको लागि मुख्य कुरा होइन । मुख्य कुरा हो यसको योजना र योजना कार्यान्वयनको लागि इमान्दार र सक्षम व्यवस्थापन । यो यथार्थः सहि ढङ्गले मनन् नगरिएका कारण पनि माथी उल्लेख गरेको मिसन सफलभएको हो नेपालमा । सरकारी स्तरबाट गठन गरिएका अझ भनौ सरकारको नेतृत्व गर्नेहरुका कार्यकर्ता नियुक्त गरि गठन गरिएका व्यवस्थापनले कुनै पनि उद्योगलाई व्यवसायीक सफलतातर्फ डोहोर्‍याएको देखिंदैन यसको मुल कारण हो अपनत्वको वोध नहुनु ।

अपनत्वको अभावको कारणले त्यँहा कार्यरत अधिकारीमा पुर्ण लगन र इमानदारीमा समेत अभावको सिर्जना हुन्छ अनि विभिन्न उद्धेश्य बोकेका मिसनहरुको प्रभावबाट मुक्त रहन सक्दैनन् । व्यवस्थापनमा रहने तथा सबै कामदार कर्मचारीहरुमा अपनत्ववोध गराउनु मात्रै यो उद्योगको पुनः सञ्चालन र पुनःस्थापनाको मुख्य आधार हो भन्ने मान्यता राख्दछु म ।

५. बिराटनगर जुट मिल सञ्चालनमा आउँदा कति मानिसले रोजगारी पाउँदछन् ?

बिराटनगर जुट मिलको पुरा क्षमता ४५ टन प्रतिदिन उत्पादन गर्ने हो तर धेरै मेसिनहरुको अवस्था अत्यन्त पुरानो तथा मर्मत योग्य नरहेकाले हाल हामीले मर्मतयोग्य मेसिनहरु मर्मत गरि २० टन प्रतिदिन उत्पादन गर्न सक्षम बनाएका छौं । २० टन प्रतिदिन उत्पादन गर्नको लागिहाल १२ सय देखि १३ सय जनाले रोजगारी पाउनेछन् । २० टन प्रतिदिन उत्पादनबाट सुरु गरेर हामी यो उद्योगलाई विस्तार गर्दै लैजाने छौं र यो सञ्चालन भएको मितिले ४ बर्ष पुरा हुँदा हामी १० हजार जनालाई रोजगारीको अवसर दिनेछौं ।

६. ऋण त अत्यन्त धेरै छ नी ?

ऋण त्यति धेरै होइन तर त्यो ऋण उत्तरदायी ढङ्गले व्यवस्थापन नभएकोले हाल पहाडको जत्रो स्वरुपमा देखिएको हो । १ करोड ७५ लाख ऋण लिएको मा हाल बैंकले ब्याजमात्र १ सय ५५ करोड हिसाबको बैंक स्टेटमेन्ट दिएको छ । एनआइडिसी डेभलपमेन्ट बैंकबाट १० लाख ऋण लिएकोमा ब्याजमात्र १ करोड ५७ लाख भएको । त्यस्तै २०५१ सालमा उदयपुर सिमेण्ट उद्योग लिमिटेडबाट४५ लाख ऋण लिएकोमा हाल ब्याज सहित ८ करोड ७०  लाख भएको, २०५३ सालमा तत्कालिन शाही औषधि लिमिटेड वर्तमान नेपाल औषधि लिमिटेडबाट ५३ हजारको औषधि उधारो लिएकोमा २०७३ असार ६ गते मात्र उक्त औषधि लिमिटेडको उधारो रकम भुक्तानी गरिएको छ, जसबाट यस लिमिटेडका त्यस अवधिका प्राधिकार वाहकहरुको दायीत्ववोधको अनुमान गर्न सकिन्छ । त्यो सम्पुर्ण ऋण तथा समस्याहरुलाई व्यवस्थापन गर्ने योजना जिम्मेवारीपुर्ण तरिकाले निर्माण गरेका छौं ।

७. त्यस्तो चमत्कारी योजना के बनाउनु भएको छ ?

चमत्कारी योजना हुँदैन, चमत्कार कर्मले देखाउनु पर्दछ । इमानदारी र लगनशिलता सहितनिरन्तर काम गरेमा यो संसारले उपभोग गर्ने वस्तुको व्यवसायमा कहिले पनि नोक्सान हुँदैन । व्यवसायमा यो प्रमाणित यथार्थ हो । अब यो देश विकासका पक्षधर सबैले कारण खोज्नुपर्ने आवश्यकता छ कि यस्तो यथार्थताका बिच पनि सरकारी व्यवस्थापन रहेका सबै उद्योगधन्दा किन असफल भइरहेका छन् ? यो कारण खोज्दैनौं र यो विषयमा चिन्तित हुँदैनौं भने हामी देश प्रति संवेदनशिल नै छैनौं भन्दा हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.