ताजा समाचार

उत्तर कोरियासँग किन डरायो जापान ? क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्दै

टोकियो, ४ पुस । जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने ब्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्त्रहरुको आक्रमणबाट जोगाउने छ ।

उक्त निर्णय जापानको मन्त्रिपरिषदले मंगलबार गरेको जानकारी जापानको राजधानी टोकियोबाट गराइएको छ । यस्ता दुई ओटा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसम्बन्धी यन्त्र जापानी भूमिमा जडान गर्न लागिएको बारेमा मन्त्रिपरिषदले मंगलबार निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जानाकारी दिएका छन् ।

यो नयाँ निर्णयलाई उत्तर कोरियाले गर्ने गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणसँग जोडेर हेरिएको छ । दुई महिनामात्र अघि पनि उत्तर कोरियाले जापानको समुद्रमा नै पर्नेगरी क्षेप्यास्त्र हानेको थियो ।

जापानी मन्त्रिपरिषदको मंगलबारको बैठकपछि सरकारी प्रवक्ताले भने, ‘उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विकास नयाँ मोडमा पुगेको र यसले आगामी दिनमा चुनौती पनि थप्न सक्ने देखिएकोले यसको प्रतिरक्षाका लागि उक्त निर्णय गरिएको हो ।

उनले उत्तर कोरियाले यसअघि पनि जापानी भूमिमा यस्तो क्षेप्यास्त्र हानेको र आगामी दिनमा फेरि यस्तो नहोला भन्न सकिने अवस्था नरहेकोले यो प्रणाली जडान गरिएको बताए । जापान सरकारको यो निर्णयका बारेमा उत्तर कोरिया या अरु कुनै पनि देशको थप प्रतिक्रिया भने आएको छैन । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org