ताजा समाचार

श्रीस्वस्थानी व्रत मंगलबारदेखिः शालीनदीमा श्रीस्वस्थानी व्रतको तयारी पूरा

काठमाडौं, १६ पुस । काठमाडौंको साँखुस्थित शाली नदीमा हुने एक महिने कठिन माधवनारायणको श्रीस्वस्थानी व्रतको सम्पूर्ण तयारी पूरा भएको छ। श्रीस्वस्थानी व्रत र शाली नदी क्षेत्रको व्यवस्थापन गर्दै आएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले श्रीस्वस्थानी व्रतको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले व्रतालुले दैनिक स्नान गर्ने शाली नदीमा पोखरी निर्माणदेखि शाली नदीसम्म पुग्ने बाटोमा सरसफाइ, शान्ति सुरक्षालगायतको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यस वर्ष मंगलबारदेखि एक महिने श्रीस्वस्थानी व्रत सुरु हुँदैछ। व्रत बस्ने व्रतालु भने सोमबार नै साँखु पुगेर आफू बस्ने ठाउँको बन्दोबस्त गरी माधवनारायणको मन्दिरमा जल चढाउने उनी बताउँछन्।

यस वर्ष करिब तीन सय जनाले श्रीस्वस्थानी व्रत बस्ने तयारी भइरहेको उनले जानकारी दिए। उनका अनुसार यसवर्ष व्रतालुहरुको सुविधाको लागि उनीहरु बस्ने जग्यभित्र टायल बिछ्याइएको छ। ‘त्यस्तै एक महिने व्रतको क्रममा बिहानै स्नान गरेका व्रतालुहरुलाई न्यानोको लागि यस वर्ष पर्याप्त काठको व्यवस्था गरिसकेका छौं’, करिब तीन दसकदेखि श्रीस्वस्थानी व्रतको व्यवस्थापनमा जुट्दै आएका सिंहले भने।

एक महिने श्रीस्वस्थानी व्रतको अवधिमा करिब ३० लाख भक्तजन शाली नदीमा मेला भर्न पुग्ने अनुमान गरिएको छ। गत वर्ष करिब २२ लाख भक्तजन शाली नदीमा मेला भर्न आएको समितिले जनाएको छ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org