आज माघे (मकर) सङ्क्रान्ति, यस्तो छ माघे संक्रान्तिको शास्त्रीय महत्व
काठमाडौं, १ माघ । आज माघे संक्रान्ति । चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ । माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेला समेत लागेको छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
“सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, ब्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नुनपर्ने हेमाद्रि, पुराण लगायत ग्रन्थमा उल्लेख गरिएको छ”–उहाँले भन्नुभयो ।
उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिएको उहाँले बताउनुभयो । माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय कर्म गर्नका लागि मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई ‘नहान्’ अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।
तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्व समेत पर्दछ ।
आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।
यसवर्ष शुक्र अस्त भएकाले माघे संक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो पर्व नित्य कर्म भएकाले शास्त्रीयरुपमै मनाउन सकिने अध्यक्ष गौतमले बताउनुभयो । गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ । रासस
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...