ताजा समाचार

विश्वकप छनोटमा नेपाल सजिलो समूहमा, अफगानिस्तान र जिम्बाबेसँग खेल्ने

काठमाडौं, ४ फागुन । आइसिसि एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल र अफगानिस्तान एउटै समुहमा परेका छन् । समूह चरणको खेलमा नेपालले अफगानिस्तान , हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने भएको छ। बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवसिय विश्वकपको विश्वस्तरको छनोट अन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का भएको हो।

नेपालले आफ्नो पहिलो खेल मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । ८ मार्चमा स्कटल्यान्डसँग, १० मार्चमा अफगानिस्तानसँग र १२ मार्चमा हङकङसँग खेल्ने छ। लिग विजेता युएई समूह ए मा वेस्ट इन्डिज , आयरल्यान्ड, पपुआन्युगिनी र नेदरल्यान्डससँग खेल्नेछ ।

सहभागी हुने १० वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह चरणमा सबै टिमले एकअर्कासँग १/१ खेल खेल्ने छन् जसपछि दुवै समूहबाट उत्कृष्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनोट हुनेछन्। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ (समुह चरणमा भेट नभएका टिमसँग मात्र)। समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (समूह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसँगको अंक बाहेक)।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनोट हुने आईसीसीको ब्यवस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनोट भइसकेका छन्। वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्दैछन्।

त्यसबाहेक नयाँ टेस्ट राष्ट्र अफगानिस्तान, आयरल्याण्डलगायत विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्युगिनी विश्वकप छनोट खेल्नेछन्। समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन्। प्रतियोगितामा सहभागी हुने ६ एसोसिएट टोलीमध्ये नेदरल्यान्ड्ससहित चार टोली चार वर्षका लागि एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्। छनोटबाट उत्कृष्ठ हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छानिनेछन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org