ताजा समाचार

रानीपोखरी पुनर्निर्माण कसरी गर्ने ?

 

 

 

रानीपोखरी पुनर्निर्माणमा खासगरी दुई विवाद देखिन्छन्।

पहिलो, कसरी लामो समय पानी टिकाइराख्ने। र, दोस्रो, पोखरी बीचको बालगोपालेश्वर मन्दिर, त्यहाँसम्म जाने पुल, पोखरीको डिल र वरिपरि मान्छे हिँड्ने गोरेटो निर्माण।

पोखरीलाई आधुनिक स्वरुप दिई पानीको फौवारा बनाउने काठमाडौं महानगरपालिकाको योजना पनि विवादित छ।

रानीपोखरी यस्तो संरचना हो, जसलाई देखाएर हामी संसारका सहरी इन्जिनियर तथा योजनाकारलाई भन्न सक्छौं– हाम्रोमा करिब ३५० वर्षअघि नै ‘फ्लड पोन्ड’ बनेको थियो। आज संसारका धेरै सहरमा ‘फ्लड पोन्ड’ का रूपमा यस्ता पोखरी विकास गरिँदैछन्, जुन वातावरणीय, जलचक्र र पर्यावरणीय हिसाबले महत्वपूर्ण छ।

रानीपोखरीको वास्तविक क्षेत्रफल २५ हजार २ सय वर्गमिटर थियो। यसको लम्बाइ १८० र चौडाइ १४० मिटर थियो। यसलाई अतिक्रमण गरी करिब १२ हजार ४२ वर्गमिटरमा समेट्ने गरी नयाँ डिजाइन गरिएको छ। लम्बाइ १३१।५४ र चौडाइ ९१।५४ मिटर हुनेछ।

यसबाटै प्रस्ट देखिन्छ, पुनर्निर्माणपछि रानीपोखरीको क्षेत्रफल अहिलेभन्दा आधा सानो हुनेछ।

मल्लकालमा बनेको रानीपोखरीमा कसरी लामो समय पानी अडिरह्यो भन्ने अध्ययन सामान्य खर्चमा गर्न सकिन्थ्यो। र, गर्नु पनि पर्थ्यो। संसारमा जहाँ पनि ऐतिहासिक तथा पुरातात्विक संरचना त्यसै भत्काइँदैन। यहाँ पनि तलको माटो खन्दै अध्ययन गर्न सकिन्छ। कस्तो माटो वा अरू कुन वस्तु प्रयोग गर्दा यति लामो समय पानी धानियो भन्ने थाहा हुनेछ। यसको निष्कर्ष काठमाडौंका अन्य पोखरी पुनर्निर्माणमा महत्वपूर्ण हुन सक्छ।

हाम्रै इञ्जिनियरिङ अध्ययन संस्थानमा माटोबाट कुन मात्रामा पानी चुहिन्छ भनेर हिसाब गर्न सकिन्छ। पोखरीमा पानीको चुहावट रोक्न कुनै आधुनिक निर्माण सामग्री प्रयोग गर्नुपर्दैन। कालो माटो वा त्यसमा अन्य प्राकृतिक पदार्थ मिश्रण गरेर पानी नचुहिने बनाउन सकिन्छ। अहिले पनि संसारभर चट्टानका बाँध निर्माण गर्दा पानी नचुहियोस् भनेर मध्यभागतिर वारपार ठाडो कालो माटोको तह निर्माण गरिन्छ। यो माटोले सजिलै पानी बग्न दिँदैन।

सामान्य रूपमा भन्नुपर्दा पहाडतिर घर पोत्न प्रयोग गरिने कमेरो माटोको पनि पानी चुहिने दर कम हुन्छ। त्यस्तो कमेरो माटो वा लेसिलो कालो माटो परीक्षण गरेर प्रयोग गर्न सकिन्छ। त्यसैले, रानीपोखरीमा पानी सञ्चित गर्न आधुनिक निर्माण सामग्री नै चाहिन्छ भन्नु यथार्थ होइन।

यो पनि हेर्नुहोस्( ३५० वर्ष कालोमाटोले धानेको रानीपोखरीमा कंक्रिट पर्खाल किन ?

सामान्य माटोमा पनि कम्तिमा ३० प्रतिशत कालो माटो मिसाएर खाँद्ने हो भने पानी चुहावट रोक्न सकिन्छ। बालुवा, गिटी र कालो माटो मिश्रण गरेर राम्ररी खाँद्ने हो भने पानीको चुहावट रोकिन्छ। पोखरीको डिल वा छेउबाट पानी चुहावट रोक्न कालो माटोको तह ठाडो गरी राख्न सकिन्छ। चुना वा सुर्खी र खर ९घाँस० मिस्रित माटो राम्रोसँग खाँदेर पनि पोखरीको डिल बनाउन सकिन्छ। यसलाई काठ प्रयोग गरेर लामो समय टिकाइराख्न सकिन्छ।

केही इञ्जिनियरले कालो माटोको भार वहन क्षमता र पानी चुहिने परिमाणबारे प्रश्न उठाएका छन। मध्यम खालको कालो माटोको भार वहन क्षमता कम्तिमा १०० किलोपास्कल हुन्छ भनिन्छ। कालो माटो खाँदेर भार वहन क्षमता बढाउन सकिन्छ। रानीपोखरीको गहिराइ करिब २ मिटर मान्ने हो भने पोखरीको पानीले दिने भार जम्मा २० किलोपास्कल मात्र हुन्छ। त्यसैले, खाँदेको कालो माटोले पानीको भार राम्ररी धान्ने देखिन्छ। अझ बालुवा वा अन्य राम्रो माटोको भर भएपछि पोखरीमा प्रयोग गरिने पिँधको कालो माटोको भार वहन क्षमता अझ बढ्छ।

पानी चुहिने दर बढी मानेर सामान्य अनुमानित हिसाब गर्ने हो भने पोखरीबाट प्रतिदिन चुहावट हुने करिब २२ घनमिटर हो। अहिलेको क्षेत्रफललाई आधार मान्दा पोखरी पूर्ण रूपले भरिँदा करिब ५० हजार ४०० घनमिटर पानी हुन्छ। यसको तुलनामा २२ घनमिटर पानी चुहिनु सामान्य हो। यो पोखरी क्षमताको करिब ०।०४ प्रतिशत हो।

पिंध तथा डिलमा प्रयोग गरिएको कालोमाटो राम्ररी खाँद्ने र गुणस्तरीय काम गर्ने हो भने यो चुहावट सजिलै १० गुना कम गर्न सकिन्छ। बर्खामा भूमिगत पानीको तह धेरै माथि हुने भएकाले ३६५ दिनै यही मात्रामा चुहावट हुँदैन। काठमाडौंको औसत बर्खा वार्षिक १३०० मिलिमिटर मान्ने हो भने आकाशे पानीबाट पोखरीमा ३२७६० घनमिटर जम्मा हुने देखिन्छ।

यो अनुमानित हिसाबबाट पनि कालो माटो प्रयोग गर्ने हो भने पोखरीमा पानी अझ राम्ररी अडिन सक्ने देखिन्छ। करिब २–३ फिट मोटाइको कालो माटो तह राखेर पुनर्निर्माण गर्दा रानीपोखरी जीवित रहन सक्छ।

हुन त पोखरीमा पानीको ठूलो भाग वाष्पीकरण भएर जान्छ। यहाँ कंक्रिटको पानी चुहिने दर कालो माटोभन्दा केही कम भए पनि कंक्रिटको गुणस्तर कम भए, बालुवा र गिटी छुट्टिए, साना–साना चिरा देखापरे पानी चुहिने दर बढ्छ।

पोखरीको पिँधमा टायल राखियो वा ढलान गरियो र डिलमा कंक्रिटको पर्खाल लगाइयो भने भूमिगत पानी, ऐतिहासिक कुलो वा इनारबाट पोखरीमा पानी भरिने पद्धति रोकिन्छ। वाष्पीकरण भएर जाने पानी भर्न ठूलो मात्रामा बाहिरबाट ल्याउनुपर्छ, जसको मूल्य करौडौं पर्छ। अहिले पर्खाल लगाउन खनेको पोखरीको डिल हेर्ने हो भने भूमिगत पानी सहज रूपमा पोखरीभित्र छिर्न सक्ने बालुवा तह देखिन्छ। अहिले लगाएको पर्खालले त्यो बालुवाको तह र पोखरीको सम्पर्क टुटाउँछ।

यो पनि हेर्नुहोस्( रानीपोखरी जोगाउने जाँगरिलाहरू

डिलका रूपमा बनाउन लागेको पर्खाल रड–सिमेन्ट–कंक्रिटकै हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न पनि छ। दुई–तीन मिटर अग्लो पर्खाल लगाउनुपर्ने अवस्थामा माटो र ढुंगाले नै राम्रोसँग काम गर्न सक्छ। ढुंगा–माटोको पर्खाल पछाडि कालो माटोको एउटा तह राख्न सकिन्छ। यसले पोखरीको डिलबाट हुने पानी चुहावट रोक्न सकिन्छ।

भुइँचालो प्रतिरोधक र अन्य हिसाबले बलियो बनाउने नाममा नेपालमा अनावश्यक खर्च गर्ने चलन छ। इञ्जिनियरिङ भनेको सुरक्षित निर्माण मात्र होइन, आर्थिक हिसाबले सुलभ पनि हो।

पुरातत्व विभागका जिम्मेवार व्यक्तिले रानीपोखरी सार्वजनिक रूपमा खुला गर्ने हो भने आधुनिक निर्माण सामग्री प्रयोग गरेरै पुनर्निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। यो नितान्त गलत छ।

इजिप्ट, रोम र ग्रिसमा चुना, सुर्खी, ढुंगा, माटो र इँटाबाट बनेका पाँच हजार वर्षभन्दा पुराना पिरामिड, गिजा र अन्य संरचना यथावतै छैन। त्यहाँ बर्सेनि लाखौं पर्यटकले भ्रमण गर्छन्।

सन् १८५४ मा भारतको हरिद्वारबाट सुरु गरी तीन सय किलोमिटर लामो गंगा नहर निर्माण सम्पन्न गरिएको थियो। यो नहरको डिल ९साइड वाल० सबै माटोबाट बनेको छ। अन्य प्रमुख संरचना पनि ढुंगा, इँटा, चुना र सुर्खी मिलाएर बनाइको थियो। यो संरचना अहिले पनि छ। उक्त नहरबाट तीन सय घनमिटर प्रतिसेकेन्डका दरले पानी बग्छ।

भारत र पाकिस्तान लगायत संसारका धेरै स्थानमा ऐतिहासिक पोखरी र नहर पाइन्छन्, जहाँ परम्परागत निर्माण सामग्री प्रयोग गरिएका छन्। ती सयौं वर्षदेखि यथावत् छन्।

विश्वविख्यात ग्रेटवालको पनि अधिकांश भाग ढुंगा, माटोबाट बनेको छ। यहाँ बर्सेनि करोडौं पर्यटकले भ्रमण गर्छन्। नेपालका अधिकांश ऐतिहासिक भवन तथा अन्य संरचना यस्तै ढुंगा, इटा, चुना, सुर्खी, मासको दाल, गुड, मह आदि मिलाएर बनाइएको हो। कतिपय ती संरचना पाँच सय वर्षभन्दा बढी टिकेका छ। विसं १९९० तथा २०७२ को भुइँचालो पनि थेगेका छन्।

सामान्य कंक्रिटको आयु ५०–७५ वर्ष हो। अझ यसमा हामी बालुवा र पानीको गुणस्तर कायम राख्न सकेनौं भने आयु कम हुन्छ। हाम्रा पुर्खाले प्रयोग गरेको निर्माण सामाग्रीको आयु हजार वर्षसम्म हुन सक्छ।

यो पनि हेर्नुहोस्( रानीपोखरी किन कंक्रिटको बनाउनु हुँदैनरु महानगरलाई सम्पदाविद्को जवाफ

रानीपोखरीको हकमा पनि कंक्रिटको विकल्पमा ढुंगाको पर्खाल र चुनासुर्खीको मसला प्रयोग गर्न सकिन्छ। यस्तो संरचना कंक्रिटभन्दा लचकदार हुन्छ। भूकम्पीय हिसाबले पनि अब्बल हुनसक्छ। यस्ता संरचना मर्मत गर्न सहज र सस्तो पर्छ। कंक्रिट तुलनामा आयु लामो हुन्छ। राम्ररी पकाएको तेलिया इँटा, ढुंगा र सुर्खीमा अन्य परम्परागत सामग्री तथा माटो प्रयोग गरे त्यस संरचनाको आयु लामो हुने हाम्रा पुराना सम्पदा हेर्दा नै प्रमाणित हुन्छ।

नेपालमा ढुंगा अभाव छैन। राम्रो गुणस्तरको ढुंगा जता पनि पाइन्छ। आजभन्दा चार–पाँच सय वर्षअघि त उपत्यका वरिपरि वा पहाडी क्षेत्रबाट ढुंगा ओसारेर ठूल्ठूला संरचना निर्माण गरेका थिए, हाम्रा पुर्खाले। अहिले केही ट्रक ढुंगा भए पनि रानीपोखरीको पुनर्निर्माण गर्न सकिन्छ। त्यस्तै अग्राख काठ प्रयोग गर्न सकिन्छ। काठलाई पानीभित्र मात्र राखिरहँदा सयौं वर्ष टिक्न सक्छ।

परम्परा जोगाउने नाममा सबै ठाउँमा चुन, सुर्खी वा अन्य परम्परगत निर्माण सामग्री प्रयोग गर्नुपर्छ भन्ने होइन। जुन स्थानमा परम्परा सामग्री प्रयोग गरेर सुरक्षित र सुलभ निर्माण गर्न सकिन्छ, त्यस्ता ठाउँमा पुरातात्विक संरचना पुनर्निर्माण गर्दा परम्परागत सामग्री प्रयोग गर्ने चलन विश्वव्यापी छ। धरहरा पुनर्निर्माण गर्दा पुराना इँटा, चुना र माटो नै प्रयोग गर्नुपर्छ भनियो भने त्यो गलत वा अतिवादी हुन्छ। रानीपोखरीका हकमा भने परम्परागत निर्माण सामग्री नै उपयुक्त देखिन्छ।

केही व्यक्ति मल्लकालमा सिमेन्ट कंक्रिट भएको भए त्यतिबेलै सिमेन्ट र रड प्रयोग गरिन्थ्यो भन्दैछन्। त्यसो भन्दैमा के काष्ठमण्डप पुनर्निर्माण गर्दा ढलान गरेको घरजस्तो बनाएर नाम काष्ठमण्डप राख्दा उहाँहरूको चित्त बुझ्छरु

सम्पदा भनेको इतिहास हो। संसारको सबै भन्दा बढी जनघनत्व भएको जापानको टोक्यो सहरमा धेरै महल तथा मन्दिर पुरानै स्वरुपमा जोगाएर राखिएका छन्, जहाँ दैनिक हजारौं पर्यटक भ्रमण गर्छन्।

यो पनि हेर्नुहोस्( ‘रानीपोखरी अब सम्पदा रहेन, स्विमिङ पुलमा परिणत हुँदैछ’

चारतिर कंक्रिट पर्खाल र पिँधमा टायल बिछ्याउनु भनेको पोखरी नाश गर्नु हो। आधुनिक निर्माण सामग्री प्रयोग गरिएको नागपोखरी किन पहिला जस्तो भएनरु मत्सेनारायण मन्दिर पोखरीमा पानी किन सुक्योरु टौदह, कपिन्छेँ पोखरी ९च्यासल, पाटन०, प्रयाग पोखरी ९पाटन० र अन्य धेरै पोखरीमा पानी किन सुक्दै छ वा सुक्योरु

परम्परागत रूपले पुनर्निर्माण गरेको पिम्बहाल, सिद्धपोखरी, न्हू पुखु लखनखेल लगायत पुराना पोखरी किन जीवित छन्रु यसबारे पनि अध्ययन जरुरी छ। यी पोखरीको पिँधमा दुई–तीन फिट कालो माटो र डिलमा इँटा तथा ढुंगा, माटो प्रयोग गरिएका छन्। यहाँ पोखरीको प्राकृतिक पद्धति कायम राख्ने कोशिस पनि गरिएको छ।

रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर पुरातात्विक शिखर शैलीमा पुनर्निर्माण गर्नु त परै जाओस्, यथास्थितिमा रहेको सम्पदा पनि विनाश गर्दै हामी उजाड शून्य–संस्कृति, शून्य–इतिहासको सहर निर्माण गर्दैछौं। अध्ययन, अनुसन्धान दृष्टिले महत्वपूर्ण यस्ता सम्पदा जोगाइराख्नु राज्यको दायित्व हो। कंक्रिटको जंगललाई मात्र विकास नभनौं। कंक्रिट भवन र कृत्रिम पानीका फोवरा हेर्नभन्दा ऐतिहासिक संरचना हेर्न पर्यटक हामीकहाँ आउने गर्छन्।

हाम्रो पहिचान र सम्पत्ति भनेकै यिनै पुरातात्विक संरचना हुन्। तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो।

(पुल्चोक इञ्जिनियरिङ क्याम्पस पढेका शर्मा क्यानाडामा विद्यावारिधि गर्दै छन्।)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.