ताजा समाचार

डिपिएल ः महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत  ।  महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइटेडले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ३० बनाएको थियो । १३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिवाइसी अत्तरियाले चार विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।

महेन्द्रनगर युनाइटेडका लागि आरिफ शेखले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा पाँच चौका प्रहार गरे । पुनित मेहराले २९ बलमा एक छक्का र दुई चौकासहित २६ रन बनाए । करण केसीले अविजित रहँदै २४ रनको योगदान दिए । उनले १३ बलमा एक छक्का र तीन चौका हाने । आरिफ शेख र रोहितकुमार पौडेलले समान ११ रन बनाए ।

बलिङतर्फ सिवाईसी अत्तरियाका लागि कमलसिंह ऐरीले दुई तथा कृष्ण कार्की, शुभाङ्कर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्रले एक÷एक विकेट लिए ।

कप्तान दीपेन्द्रसिंह ऐरी २७ रनमा रन आउट भएपछि अत्तरियाको पारी धरमराएको थियो । ऐरीले ३४ बल खेल्दै एक छक्का प्रहार गरे । सुवाश खकुरेलले सर्वाधिक ३० रन बनाए । उनले २५ बल खेल्दै एक छक्का र दुई चौका हाने । विपीन चन्द्रले अविजित २८ रन बनाए । उनले २९ बलमा एक छक्का प्रहार गरे । गौरव चित्काराले १४ बलमा १४ रनको योगदान दिए ।

बलिङतर्फ महेन्द्रनगर युनाइटेडका रवीन क्षेत्रीले चार ओभरमा १६ रन दिएर दुई
विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । भुवन कार्कीले चार ओभर बलिङ गर्दै २० रन दिई एक विकेट लिए ।

महेन्द्रनगर युनाइटेडले बुधबार फाइनल प्रवेशका लागि काठमाडौँ गोल्डेन्ससँग प्रतिष्पर्धा गर्ने छ । आजै सम्पन्न टिम चौराह धनगढीसितको खेलमा काठमाडौँ गोल्डेन्स एक विकेटले पराजित भएको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org