ताजा समाचार

सुन काण्ड: वकिलदेखि प्रहरीसम्मका सेटिङकर्ता ‘तिवारी’ गोरेका विश्वासपात्र

काठमाडाैं २५, जेष्ठ । हराएको भनिएको साढे ३३ किलो सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी काठमाडौंका विभिन्न स्थान घर तथा जग्गा भएको खुलेको छ।

पेसाले जग्गा कारोबारी भए पनि उनको सम्पति भने अकुत देखिएको छ। चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगी तिवारीको काठमाडौँको गौरीघाट र कोटेश्वरमा घर रहेको छ। त्यस्तै ठमेलमा पनि १० आनाभन्दा बढी जग्गा देखिएको छ। छानबिन समितिका एक सदस्यले भने, ‘छोटो समयमै तिवारीले सम्पति कसरी जोडे अनुसन्धान गर्दैछौं।’

तिवारी २५ वर्षदेखि काठमाडौं बस्दै आएका थिए । चार वर्षअघि उनले दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीसँग अदालतमा पारपाचुके मुद्दा चलिरहेको सुन तस्करी छानविन समितिसमक्ष उनले बयान दिएका छन् । दुईवटी श्रीमतीलाई उनले कोटेश्वर र गौरीघाटको छुट्टाछुट्टै घरमा राखेका छन् ।

सुन प्रकरण छानबिन समितिले तिवारीलाई पहिले पनि पक्राउ गरी अनुसन्धान गरेको थियो। तर अनुसन्धानमा सुन तस्करीमा संलग्न नभएको प्रमाण फेला नपरेपछि उनी छुटेका थिए। तिवारी छानबिन समितिबाट फुत्के लगतै दक्षिण कोरिया पुगेका हुन्। समितिका सदस्यले भने ‘अहिले भने प्रमाण नै फेला पारेर पक्राउ गरेका हौँ।’

तिवारी गोरेका विश्वास पात्र हुन्। गोरेले लगानी गरेका जग्गाको कारोबार समेत उनैले रेखदेख तथा बिक्री गर्ने गरेको अनुसन्धानमा देखिएको छ।तिवारीको कालोपुल र कुपन्डोलमा मोटर ग्यारेज रहेको छ। कालोपुलको ग्यारेज भने साढे सात लाख रुपैयाँमा भाडामा दिएका छन्। समितका सदस्यले भने, ‘पहिले आफै ग्यारेज चलाएका थिए। तर केही वर्षदेखि ग्यारेज भाडामा दिएको देखियो।’

तिवारीले गोरेसँग प्रहरी, वकिलदेखि सरकारी कर्मचारीसम्म सेटिङ मिलाउने गरेका थिए। गोरेले प्रहरीसँगको सेटिङ मिलाउन पनि उनै तिवारीलाई जिम्मेवारी दिएका थिए।

लक्जरियस गाडी चढेर हिँड्ने राम तिवारी साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले छानविन शुरु गरेपछि दक्षिण कोरिया पुगेका थिए । ‘उपचार गर्न दक्षिण कोरिया गएको हुँ,’ समितिसमक्ष बयान दिँदै तिवारीले भनेका छन्, ‘मेरो गर्धनको दायाँतिर दुःखाईको समस्या छ ।’

सुन तस्कर ‘गोरे’ लाई भाञ्जा भन्ने गरेका ‘सेटिङ मास्टर’ राम तिवारीले केही प्रहरीका उच्च अधिकारी, केही न्यायाधीश र निजामतितर्फ केही सह–सचिवहरु चिनेको बयान दिएका छन् ।

तिवारीको गुण्डा नाईके गणेश लामासँगसमेत पार्टनरसिपमा काम गरेको देखिएको छ। लामा र तिवारी मिलेर क्रसर उद्योग सञ्चालन गरेको खुलेको छ। लामा हातहतियार खरखजना मुद्दामा हाल पूर्पक्षका लागि डिल्लीबजार सदरखोरमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org