ताजा समाचार

राष्ट्रियसभा सदस्यको कार्यकालका लागि असार ४ गते गोलाप्रथा

काठमाडौं २७, जेष्ठ । राष्ट्रियसभाका सदस्यको कार्यकाल टुंगो लगाउन असार ४ गते गोलाप्रथा गरिने भएको छ ।

राष्ट्रियसभाका अध्यक्षसहित सहभागी दलका नेताहरुबीच आइतबार संसद भवनमा बसेको बैठकमा असार ४ गते गोलप्रथा गर्ने निर्णय गरिएको अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि उल्लेख गरिएको छ ।

नियमावलीका अनुसार। पहिलो पटकको लागि गोला प्रथाबाट १९ जनाको पदावधि २ वर्षको कायम हुनेछ । त्यस्तै अरु २० जनाको पदावधि पनि गोलाप्रथाबाटै ४ वर्ष तोकिनेछ । बाँकी २० जना को पदाबधि भने ६ वर्ष पूरा हुनेछ ।

कसरी हुन्छ गोलाप्रथा ?
नियमावलीमा भएको व्यवस्था अनुसार क्लष्टरअनुसार प्रतिनिधित्व भएका सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ ।

प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गरेका ३ जना खुला सदस्य र महिला सदस्यबीचमा गोलाप्रथा गरी २, ४ र ६ वर्षको कार्यकाल तय गरिनेछ ।

त्यसबाहेक सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने दलित सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ । त्यस्तै, अल्पसंख्यक तथा अपांगताको तर्फबाट प्रतिनिधित्व गर्ने सात सदस्यबीच पनि गोलाप्रथा गरिनेछ । राष्ट्रपतिबाट मनोनित ३ जनाबीच पनि त्यसैगरी हुनेछ भने राष्ट्रिय सभाका अध्यक्ष, सत्तापक्ष दलको नेता र विपक्षी दलको नेताबीच पनि गोलाप्रथा गरिनेछ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, सत्तापक्षीय दलको नेता दीनानाथ शर्मा र विपक्षी दलको नेता सुरेन्द्र पाण्डे एउटै प्रदेशबाट अर्थात् ४ नम्बर प्रदेशबाटै प्रतिनिधित्व गर्छन् ।
गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्षको समय तय गरिनेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org