ताजा समाचार

प्रधानमन्त्री कप क्रिकेटको उपाधि जित्यो एपीएफले

फाइनल खेलमा आर्मी ६ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।

सोमबार त्रिवि मैदान कीर्तिपुरमा आर्मीले दिएको २ सय १० रनको लक्ष्य एपीएफले ४१ ओभर २ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

एपीएफलाई उपाधि दिलाउन अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३–६३ रन बनाए । त्यस्तै, पृथु बास्कोटाले ३२ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिए पनि एपीएफलाई रोक्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २०९ रन बनाएको थियो । आर्मीका लागि भिम सार्कीले ४५ रन बनाए । त्यस्तै, सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाउँदा राजेश पुलामी मगरले २७, नरेश बुढाऐरले २० र अनिल कुमार मण्डलले १९ रन जोडे ।

एपीएफका लागि बलिङतर्फ करण केसीले ३, बसन्त रेग्मी र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।

प्रतियोगिताको विजेता बनेको एपीएफ क्लबले २० लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको आर्मीले १० लाख नगदसहित ट्रफी हात पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org