ताजा समाचार

विद्यालयको भवन सानिमा विकास बैकलाई भाडा दिएर विद्यार्थी टहरामा पढाइदै

दोलखाको मेलुङ गाउँपालिका–४ स्थित भीम माध्यमिक विद्यालयलाई पुनर्निर्माण प्राधिकरणले ९० लाखमा बनाइदिएको भवन १५ हजार भाडामा दिएर विद्यार्थीलाई भने चुहिने टहरामै पठनपाठन गराइएको पाइएको छ ।

सुविधासम्पन्न भवनमा मासिक १५ हजार तिरेर सानिमा बैंकले शाखा खोलेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका गोले र प्रधानाध्यापक सचिन थोकरको मिलेमतोमा नवनिर्मित भवन सानिमा विकास बैंकलाई भाडामा दिइएको हो ।

सानिमा विकास बैंकले सोमबार भव्य समारोहबीच शाखा उद्घाटन गरिरहँदा गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, उपप्रमुख कल्पना भण्डारी र वडाध्यक्ष छत्रबहादुर तामाङ उपस्थित भएका थिए तर, उनीहरु चुइक्क समेत बोलेनन् ।

स्थानीय अभिभावक तथा वडासदस्य नवीनकुमार गोलेका अनुसार वर्षामा टहरो चुहिएर कक्षा कोठा हिलाम्य हुन्छ । ‘बालबालिकाको अधिकारै हनन् हुने गरी विद्यालय प्रशासन र व्यवस्थापन समितिले मनोमानी गरे, शैक्षिक संस्था सेवामुखी हुनुपर्नेमा नाफामुखी हुन खोज्यो,’ उनले भने, ‘यसका विरुद्ध गाउँसभामा प्रस्ताव नै लैजान्छु ।’

तर, व्यवस्थापन समितिका अध्यक्ष गोलेले सहि काम गरेकाले नडराउने भन्दै ठाडो चुनाैति दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org