ताजा समाचार

शहरी स्वास्थ्य केन्द्र भवन निर्माण

पोखरा ४, साउन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ को शहरी स्वास्थ्य केन्द्रको रु ८९ लाखको लागतमा पक्की भवन निर्माण सम्पन्न भएको छ ।

बिरुवा फाँटको बीचभाग पिपलतरा मार्गमा रहेको लगभग पाँच रोपनी सार्वजनिक जग्गामा जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४१ लाख र महानगरपालिकाको रु ४८ लाखको लागतमा सो भवन निर्माण सम्पन्न गरिएको हो ।

विगत लामो समयदेखि पार्दी विरौटास्थित वडा कार्यालयको भवनबाटै प्रदान गर्दै आएको स्वास्थ्य सेवा आजदेखि उक्त नवनिर्मित भवनबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले आज आयोजित एक कार्यक्रमबीच स्वास्थ्य सेवाको शुभारम्भ गर्दै केन्द्र सञ्चालनपश्चात् यस क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुग्ने विश्वास व्यक्त गरे ।

शहरी स्वास्थ्य केन्द्रका व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीले स्वास्थ्य चौकी भवन निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका रहेको बताउँदै आगामी दिनमा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गरी सुविधा विस्तार गर्दै जाने उल्लेख गरे ।

सो केन्द्रबाट हाल नेपाल सरकारले तोकेका ३७ प्रकारका औषधि निःशुल्क प्रदान गर्नाका साथै खोप, पोषण, बालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोगलगायतका विभिन्न सुविधा उपलब्ध गराउँदै आएको केन्द्र प्रमुख निर्मला आचार्यले जानकारी दिए ।

भवन निर्माण समितिका अध्यक्ष भगवान पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी, महाशाखा प्रमुख हेमन्त पौडेल, वडा सचिव प्रजापति बराललगायतले शहरी स्वास्थ्य केन्द्रमा थप सेवा सुविधाका लागि आवश्यक पहल गर्ने बताए।
सो स्वास्थ्य केन्द्र भवन सञ्चालनसँगै सेवाग्राहीलाई यातायातको सुविधा पुर्याउनका साथै चिकित्सकसहित प्रयोगशालाको व्यवस्था हुनुपर्ने स्थानीय बासिन्दाको सामूहिक धारणा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org