ताजा समाचार

डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ: मन्त्री अधिकारी

पोखरा, ११ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहको आज उद्घाटन गर्दै उनले केसी र सरकारबीच भएको सहमतिलाई सरकारले कार्यान्वयनमा लैजाने बताए ।

विगतमा धेरैपटक सरकारको तर्फबाट डा केसीसँग गरिएका सहमति कागजमा मात्र सीमित रहेको बताउँदै उनले अब भने सम्झौतालाई व्यवहारमै लागू गरिने विश्वास व्यक्त गरे ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

वर्तमान सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै उनले यस अवसरलाई आत्मसात गर्दै अघि बढ्न नसकेमा इतिहासमा अर्को अवसर प्राप्त नहुने हुँदा सरकार त्यही रुपमा राष्ट्रको समृद्धि र विकासका लागि क्रियाशील बनेको बताए । उक्त अवसरमा मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन गरे ।

सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भुर्तेलले समाजले सामाजिक सेवामा आफूलाई निरन्तर क्रियाशील बनाएको बताउँदै नवनिर्मित सूर्यचन्द्र वाटिका सात लाख ५० हजारको लागतमा निर्माण सम्पन्न गरिएको जानकारी दिए ।

कार्यक्रममा समाजद्धारा सञ्चालित शहीद स्मृति पुस्तकालय, अक्षयकोष स्थापना, वाटिका निर्माणलगायतमा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका–५ का वडाध्यक्ष धनबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ का अध्यक्ष विष्णुप्रसाद बराल, नेपाली काँग्रेसका वडासभापति फणीन्द्रराज पराजुली, डा सरोज कोइरालालगायतले सामाजिक क्षेत्रको विकासमा समाजले महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org