ताजा समाचार

चार नेपाली खेलाडी टी-२० वरीयतामा

काठमाडाैँ २२, साउन । नेपालका चार खेलाडी आइसीसी टी-२० इन्टरनेशनल वरीयतामा समावेश भएका छन्।

बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ  कप्तान पारस खड्का र शरद भेषावकर शीर्ष सयको सूचीमा परेका हुन्।

आइसीसीले जारी गरेको नयाँ वरियताअनुसार नेपाली स्पीनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ वरीयतामा छन् भने फास्ट बलिङ अलराउण्डर सोमपाल कामी ९२औँ वरीयतामा छन्।

बसन्तको ३९७ तथा सोमपालको ३३८ रेटिङ छ। अष्ट्रेलियाका मार्कुस स्टोइनिस, इंग्ल्याण्डका बेन स्टोक, वेष्ट इन्डिजका आन्द्रे रेसल, भारतका रविन्द्र जडेजा भन्दा बसन्त अगाडी छन्।

यस्तै सोमपाल कामी केन रिचर्डसन, सार्दुल ठाकुर भन्दा अघि छन्।

यस्तै ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ९०औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन्।

पारस वरीयतामा किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन्। पारसको २६५ तथा शरदको २३८ रेटिङ छ।

टी २० मा ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन्।

नेपालका कप्तान पारस खड्का टी-२० अलराउण्डरतर्फ ३७औँ स्थानमा छन्। सोमपाल ५७औँ स्थानमा छन्। यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org