ताजा समाचार

‘मनको तीरैतीर’, २४ वर्षीया डाक्टरको मनछुने कविता संग्रह

काठमाडाैँ २३, साउन ।   साहित्यिक रचना पाण्डुलिपीमा उतार्नुअघि मनमा जन्मिन्छन् । मनमा जन्मिएका शब्द संयोजनलाई व्यवस्थित गर्दै गएपछि एउटा साहित्य संग्रह जन्मिन्छ । सबै चरण पार गर्दै बजारमा आएको छ, कविता संग्रह ‘मनको तीरैतीर’ ।
मनमा जन्मिएका वाक्यलार्ई अरुले पढ्न सक्ने गरी बजारमा ल्याउन लेखकले खुब मेहनत गर्नुपर्छ । त्यो मेहनत गरेकी छन्, डा. अस्मिता अर्यालले । अर्यालको ‘मनको तीरैतीर’ कविता संग्रह सोमवार लोकार्पण भएको छ ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशनमा ल्याएको डा. अर्यालको ‘मनको तीरैतीर’ पर्यटन बोर्डको सभाहलमा साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी, साहित्यकार प्रा.डा. सावित्री कक्षपति, साहित्यकार कालिप्रसाद रिजाल र डा. अर्यालकी आमा मायादेवी अर्याल र बुबा एकनारायण अर्यालले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।

कविता संग्रहमाथि विश्लेषण गर्दै साहित्यकार तथा प्रा.डा. सावी कक्षपतिले देशको विद्यमान स्थितिलाई चित्रण गरेको र समसामयिक राजनीतिक क्षेत्रलाई समेटेको बताइन् । ‘संग्रहले नारी वेदनालाई अगाडि सारेको र सानै उमरेमा पनि साहित्य क्षेत्रमा निपूर्णता देखाइएकाले साहित्य क्षेत्रमा तरङ्ग ल्याएको छ,’ उनले भनिन् ।

कवितामाथि समीक्षा गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार कालिप्रसाद रिजालले साहित्यमा निपूर्णताको कदर गर्नुपर्ने बताए । ‘साहित्य सिर्जनाले नेपाली साहित्य क्षेत्रमा योगदान दिएको र सुझावको रुपमा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने । साहित्यकला मन्दिरका अध्यक्ष तथा कवि रचनाकार वसन्त चौधरीले शील्पशैलीले स्रष्टाको परिचय दिएको र आगामी दिनमा पनि बचाइराख्नुपर्ने बताए ।
कवयित्री डा. अर्यालले कविता संग्रहलाई ‘क’ र ‘ख’ गरी २ खण्डमा  विभाजन गरेकी छन् । खण्ड ‘क’ मा ‘प्रिय पीपलबोट’, ‘सुनसान रात’, ‘सपना अमेरिका’, ‘भाग्य रेखा’, ‘त्यो मुटुको हार भएछ’, ‘कोठीमा बेचिएकी चेली’, ‘अभागी डाक्टर म’, ‘जाँदीनम सती’ लगायतका ५१ वटा कविता र गजल समावेश गरिएको छ ।

खण्ड ‘ख’ मा पेट छ ठूलो, घुसिया ती नेताको, नेपाली भोकै, पसिना बग्यो, मेहनत किसान, साहुको मस्ती, रित्तो दिमाग, सादा नारा जुलुस, कलेज किन ?, दूरसञ्चार, जनतालाई सेवा, नेटवर्क खै ? जस्ता समसामयिक विषयमा व्यंग्य गर्दै १ सय १५ वटा हाइकुहरू समावेश छन् । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
स्याङ्जाको पुतलीबजारकी स्थायी बासिन्दा २४ वर्षीया कवियत्री डा. अर्याल एमबीबीएस अध्ययन सकेर काठमाडौंको केएमसीमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org