ताजा समाचार

नेपाल–वंगलादेश ऊर्जा सहकार्य समझदारी आज

काठमाडाैँ २५, साउन । नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नका लागि शुक्रबार दुई देशबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेसन) सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुँदैछ । दुई छिमेकी राष्ट्र भारत र चीनपछि नेपालले वंगलादेशसँग ऊर्जा सहकार्यबारे समझदारी गर्न लागेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा ऊर्जा सहकार्यबारे समझदारीमा हस्ताक्षर हुन लागेको छ । नेपाल र वंगलादेशबीच ऊर्जा क्षेत्रमा लगानी, विद्युत् आदानप्रदानबारे औपचारिक र अनौपचारिक रूपमा लामो समयदेखि छलफल चलेपनि दुई देशबीच पहिलोपटक समझदारी हुन लागेको ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए । “दुई देशबीच ऊर्जाको सहकार्यबारे समझदारी भएपछि सचिव र सहसचिवस्तरीय औपचारिक रूपमा संयन्त्र समेत बन्नेछ,” उनले भने ।

समझदारीपछि औपचारिक रूपमा ऊर्जासँग सम्बन्धित नेपाल र चीनबीच सचिवको नेतृत्वमा संयुक्त कार्यकारिणी (स्टेरिङ) समूह र सहसचिवको नेतृत्वमा कार्यगत समूह निर्माण हुनेछ भने त्यो संयन्त्रमार्फत ऊर्जा क्षेत्रमा लगानी, विद्युत् व्यापार सम्झौता लगायतबारे प्रक्रिया अघि बढ्नेछ । वंगलादेशले नेपालबाट चार हजार मेगावाट विद्युत् किन्नका लागि प्रस्ताव गरेपनि भारतको भूमि हुँदै लानुपर्ने भएकोले यसमा भारतको समेत सहमति आवश्यक छ । नेपालले भारत र वंगलादेश दुवैसँग ऊर्जा सहकार्यमा समझदारी गरेपछि तीन देशबीच ऊर्जाका कार्यक्रम अघि बढाउनका लागि सहज हुने अपेक्षा गरिएको छ । भारतीय कम्पनी जिएमआरले अघि बढाएको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् वंगलादेशमा विक्री गर्ने सैद्धान्तिक सहमति भैसकेको छ । भारतीय विद्युत् निगममार्फत कर्णालीको बिजुली वंगलादेश बेच्ने आयोजनाको लक्ष्य छ ।
प्रधानमन्त्री र मन्त्रीसँग भेट ।

प्रधानमन्त्री केपी शर्मा ओली र समझदारीका लागि बुधबार नेपाल आइपुगेका बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदबीच ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल हुने कार्यक्रम छ । दुई देशबीचमा ऊर्जामा गर्न सकिने सहकार्य र सम्भावित लगानीबारे प्रधानमन्त्रीसँग हमिदले नेपाल भ्रमणको क्रममा छलफल गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org