ताजा समाचार

चिनियाँ कम्पनीले माग्यो सोलुखुम्बुको खानीबाट तामा निकाल्न उत्खनन अनुमति

काठमाडाैँ १,भदाै । चार वर्षअघि अन्वेषण अनुमति दिइएको सोलुखुम्बुको तामाखानीलाई चिनियाँ कम्पनीले उत्खनन गर्ने तयारी गरेको छ।

गत मंसिर ८ गते उद्योग विभागमा दर्ता भएको चिनियाँ कम्पनी ‘सिल्क रोड मिनिरल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्राली’ले तामाखानीको अन्वेषण सकेर उत्खननको लागि खानी विभागमा निवेदन दिएको छ। ‘अन्वेषण गर्दा आर्थिक र प्राविधिक रुपले सम्भाव्य भएपछि मात्रै कुनैपनि खानी उत्खननको लागि विभागमा आउँछन्।‘ विभागका एक उच्च अधिकारीले भने, ‘सोलुखुम्बु, तनहुँ र मकवानपुरमा रहेका तामाखानी उत्खननको लागि विभागमा निवेदन आएको छ।‘

तामाखानी उत्खननकै लागि दुई अर्ब रुपैयाँ विदेशी लगानी ल्याइसकेको कम्पनीले अनुमति पाउने बित्तिकै उत्खननको काम सुरु गर्ने विभागको विश्वास छ।यसअघि विभागले ६ वटा कम्पनीलाई तामाखानी अन्वेषणको अनुमति दिए पनि कुनैपनि कम्पनीले उत्खननको अनुमति मागेका थिएनन्। अहिले चीनका दुई कम्पनीले तीन ठाउँको तामाखानी उत्खननको लागि विभागमा निवेदन दिएका हुन्।

चिनियाँ कम्पनीले सोलुखुम्बुको दुधकोशी गाउँपालिका नजिकै रहेको तामाखानी उत्खनन गर्ने लक्ष्यसहित गतवर्ष मंसिरमा दुई अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको थियो। वार्षिक ९ हजार टन तामा उत्खननको लक्ष्य लिएको कम्पनीले चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिवद्धता जनाएको छ।

असारमा दर्ता भएको डोइङ साङ एण्ड मिनिरल्स प्रालीले पनि पनि तनहुँको तामा खानी उत्खननको अनुमतिका लागि विभागमा निवेदन दिएको छ। एक अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गराएको कम्पनीले वार्षिक ८८० टन तामा उत्खनन् गर्ने लक्ष्य लिएको छ। डोइङ साङलेनै मकवानपुरमा पनि खानी अन्वेषण तथा उत्खननको लागि विभागमा निवेदन दिएको छ।

दुई कम्पनीले गरि वार्षिक करिब १० हजार टन तामा उत्खनन् गर्ने लक्ष्य लिएका छन्। दुई कम्पनीले मात्रै नेपालको खानीमा तीन अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी ल्याइसकेका छन्।

तामाखानीको काम अघि बढ्छ

चिनियाँ कम्पनीहरु प्राविधिक तथा आर्थिक रुपले दक्ष भएकाले तामाखानी उत्खनन् हुनेमा खानी विभाग विश्वस्त छ।

‘यस अघि पनि विभिन्न ठाउँमा विभिन्न खानी उत्खननको प्रयास गरेपनि आर्थिक तथा प्राविधिक हिसावले सम्भव भएको थिएन्।‘ खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले बिजमाण्डूलाई भने, ‘अहिले सस्तो प्रविधि भित्रिएको छ। न्यून वातावरणीय प्रभावमै खानीको उत्खनन हुने र बजारको पनि विकास भएकोले खानीहरुको उत्खनन अव सम्भव भएको छ।’

सरकारले खानी सम्म पुग्ने बाटो, बिजुली र जग्गा प्राप्तीमा सहजीकरण गर्ने नीति लिएपछि पछिल्लो समय खानीजन्य उद्योगमा विदेशी लगानी बढ्दो क्रममा छ।अघिल्लो आर्थिक वर्षमा चार करोड रुपैयाँ मात्र विदेशी लगानी आएको खानी उद्योगमा गत आर्थिक वर्षमा भने धन्नै चार अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको उद्योग विभागको तथ्याङ्कले देखाउँछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org