ताजा समाचार

नेकपाका १७ जिल्लाका अध्यक्ष र सचिब सिफारिस (नाम सहित)

काठमाडाैं ५,भदाैं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश एकीकरण कार्यदलहरुले जिल्ला कमिटी बाँडफाटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस गरेका छन् ।

प्रदेश ५ र ७ ले प्रदेश कमिटी अध्यक्षको नामसमेत सिफारिस गरेका छन् भने अन्य प्रदेशको अध्यक्ष टुङ्गो लाग्न बाँकी छ ।

प्रदेश ७ को अध्यक्षमा कर्णबहादुर थापा र सचिव लक्ष्मी जोशी सर्वसम्मत भएका छन् । थापा पूर्व एमाले र जोशी पूर्वमाओवादी हुन् । त्यस्तै प्रदेश ५ को अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगर सिफारिस भएका छन् ।

यसैबीच प्रदेश ३ को कार्यदलले सो प्रदेश अन्तर्गतका १७ जिल्ला कमिटीको बाँडफाट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । स्रोतका अनुसार १७ मध्य पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिवसहित बहुमत सदस्य पाएको छ ।

पूर्वमाओवादीले ५ जिल्ला कमिटी अध्यक्ष र बाँकीमा सचिव पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएकामध्ये काठमाडौंमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् ।

त्यस्तै धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्न्याल लामा, मकवानपुरमा बद्री लम्साल, सिन्धुपाल्चोकमा झम्क नेपाल र दोलखामा भीम दाहाल अध्यक्ष सिफारिस भएका छन् । एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् ।

एमालेले सचिव पाएका जिल्लामध्ये रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, चितवनमा तेजेन्द्र खड्का, नुवाकोटमा बुद्धि प्रधान, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् ।

त्यस्तै माओवादीले अध्यक्ष पाएका जिल्ला कमिटीमध्ये रामेछापमा बुद्धिमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ,  नुवाकोटमा पुष्प लामिछाने, चितवनमा यमबहादुर परियार (टुंगिन बाँकी), युवा विद्यार्थी विशेषमा रमेश मल्ल र मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी सिफारिस भएका छन् ।

माओवादीले सचिव पाएका जिल्लामध्ये ललितपुरमा शिव कट्टेल, रसुवामा माधव लामिछाने, धादिङमा दलबहादुर बुर्लाकोटी, दोलखामा कुलबहादुर बुढाथोकी, सिन्धुपाल्चोकमा गोविन्द पराजुली, मकवानपुरमा विष्णु विष्ट, पेशागतमा कृष्ण केसी सिफारिस भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org