ताजा समाचार

प्याराग्लाइडिङमा नेपालको ऐतिहासिक सफलता,२० वर्षपछि नेपालले जित्यो रजत पदक

एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो।

यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।

यस्तै प्याराग्लाइडिङमा पदक जितेसँगै नेपालले १८औँ एसियाडमा पदकको खडेरी समेत तोडेको छ। यसअघिको एसियाडमा नेपालको लागि पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपालले यसपटक पदक जित्न सकेन।

वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेको नेपाली टिमका म्यानेजर शैलेन राउतले बताए।

नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो।

अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।

पुरुष क्रस कन्ट्रीको पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा चौथो भएको थियो। तर चौथो राउण्डमा नेपालका पाइलटहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थानमा पुर्‍याएका थिए। अन्तिम राउण्डमा पनि नेपालले उक्त प्रदर्शन कायम राख्दै पदक जिताएको हो।

प्याराग्लाइडिङमा रजत जितेपछि नेपालले एसियाडमा दुई रजत जितेको छ। र समग्रमा पदक संख्या २४ पुगेको छ। नेपालले यसअघि तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जितेको थियो।

यसअघि पुरुष र महिला दुवैको व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपालले पदक जित्न सकेको थिएन।

१८औँ एसियाडका लागि नेपालबाट पुरुषमा ५ र महिलामा ३ गरी कूल ८ खेलाडी इन्डोनेसिया गएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org