ताजा समाचार

बिमस्टेक सार्कको विकल्प नभई , हिमाल र महासागर जोड्नका लागि हो:प्रधानमन्त्री ओली

प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।

‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण-पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।

हाम्रा क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्‍याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको ओलीको निश्कर्ष थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा बताए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीको सम्बोधन सकिएपछि वणर्ानुक्रम अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचाले १५-१५ मिनेट मन्तव्य राख्नेक्रम जारी छ ।

सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा आयोजित रात्रीभोज होटल हयातमा शुरु हुनेछ ।

शुक्रबार विहानको कार्यक्रम प्रधानमन्त्री ओलीद्वारा आयोजित ‘रिट्रिट’ बाट शुरु हुनेछ । त्यसपछि बिहान साढे दश बजे बिमस्टेकको दोस्रो दिनको सत्र शुरु हुनेछ ।

अन्तिम दिन महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर र काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org