ताजा समाचार

राम कार्की आफैलाई कम्युनिष्ट भन्न यस कारण लजाए !

काठमाडाैँ २४,भदाै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकारको आलोचना सार्वजनिक रुपमै हुन थालेको छ । नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिष्ट चरित्रको नभएको भन्दै सरकारलाई गम्भीर आरोप लगाएका छन् ।

नेता कार्कीले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको जनाएका छन्।

‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’ कार्कीले भने, ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’

राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै उनले  प्रतिप्रश्न गरे– ज्ञानेन्द्र त ५ वर्ष टिकेनन्, हाम्रो अवस्था के होला ?

कार्कीले सामन्तवादको अन्त्य भए पनि दलाल पुँजीवादसँगको लडाइँ जारी रहेको भन्दै यसविरुद्ध हुने लडाइँको नेतृत्व लिन युवा नेताहरुलाई आग्रह गरे ।

नेकपाका अर्का नेता डा. विजय पौडेलले पार्टी पद्धति अनुसार चल्न छाडेको उल्लेख गर्दै सामाजिक चेतनालाई समाजवादमा नलगेसम्म संविधानमा लेख्दैमा समाजवाद स्थापित हुन नसक्ने बताए । उनले नयाँ पुस्तामा उपभोक्तावादको प्रवृत्ति विकास भएको उल्लेख गर्दै सैद्धान्तिक जागरण ल्याउन नसके उपभोक्तावादले देशलाई नै सिध्याउने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org