ताजा समाचार

लेखनाथ हट्यो, ‘पोखरा महानगरपालिका’को नाम राजपत्रमा प्रकाशित

काठमाडाैँ २६,भदाै । पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।

नेपाल राजपत्रको भाग ५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ महानगरपालिकाको नाम पोखरा मात्र कायम गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम महानगरपालिकाको नाफ हेरफेर गरिएको मन्त्रालयका सचिव दिनेश थपलियाले जानकारी दिए।

उक्त उपदफामा गाउँपालिका, नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्नुपरेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्या दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने उल्लेख छ।

सघींय सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको सिफारिस पारित गरी राजपत्रमा प्रकाशित भएपछि फेरिएको केन्द्र वा नाम कार्यान्वयन हुने संवैधानिक व्यवस्था छ। पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउने प्रस्ताव नगरसभाले गएको असार १२ गते सर्वसम्मत पारित गरेको थियो।

गएको साउनको पहिलो शुक्रबार बसेको कार्यपालिकाको बैठकले उक्त प्रस्ताव प्रदेश सरकारलाई पठाउने निर्णय गरेको थियो।

प्रदेश सरकारले सिफारिस गरेपछि २०७४ साउन २३ गते संघीय सरकारको मन्त्रिपरिषद् बैठकले नाम हेरफेर गर्ने निर्णय गरेको हो। राज्य पुनःसंरचना आयोगले २०७३ फागुन २३ गते पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका तथा केही साविकका गाविस मिसाएर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरेको थियो।

विसं २०५२ माघ २० गते पोखरा उपमहानगरपालिका तथा २०१६ सालमा पोखरा नगरपालिका घोषणा गरिएको थियो भने २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका विस्तार गरी केही गाविस थपेर २९ वडा पुर्‍याइएको थियो। तत्कालीन लेखनाथ नगरपालिकामा पनि भरतपोखरी गाविस थपेर १८ वडा बनाइएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्यालको नामबाट नामाकरण गरिएको उक्त नगरपालिकाको नाम हटाइएपछि उनकाे नामबाट कुनै प्राज्ञिक थलो बनाउँदा अझ सान्दर्भिक हुने अधिकांशको सुझाव छ।

कविशिरोमणि लेखनाथका कृति तथा उनकाे व्यक्तित्वलाई नयाँ पुस्तासँग जोड्ने, उनकाे जन्मथलोलाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने, लेखनाथमा ठूलो पुस्तकालय तथा देशभरका लेखक, कलाकारका सिर्जनासँग जोड्नपर्ने महानगरपालिकालाई सुझाव आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org