ताजा समाचार

साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै

काठमाडाैँ २७,भदाै । बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनल खेल हुँदैछन।

पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ। उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलेको छ। माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो।

अर्को तथ्य के हो भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन। तर यो पटक नेपाली टोलीले पहिलो खेल हारेर पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। सही समयमा पुनरागमन र सही समयमा गोल गर्न सक्ने खुबी नेपाली टोलीले यस पटक देखाएको छ। तीन टिममात्र भएको समूहमा माल्दिभ्सले कुनै खेल जित्न सकेन भने कुनै गोल नै नगरी अन्तिम चारमा स्थान बनाएको हो। श्रीलंकासँग समान अंक भएपछि टसमा भाग्यमानी बन्दै माल्दिभ्सले नेपालसँगको सेमिफाइनल भेट पकका गरेको थियो।

समूह चरणमा नेपालले दुई खेलमा जित र एक हारको नतिजा निकाल्दा नेपालले ७ गोल गरिसकेको छ र नेपाल सर्वाधिक गोल गर्ने टोली समेत हो। नेपालका ६ फरक खेलाडीले गोल गर्दा विमल घर्ती मगरले दुई गोल गरिसकेका छन्।

यसले नेपालको जुनसुकै खलाडी पनि गोल गर्न सक्षम छन् भन्ने देखाएको छ।

साफ सुरु हुनुअघि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य पहिले सेमिफाइनल र त्यसपछि उपाधि भएको बताएका थिए। पाकिस्तानसँग पहिलो खेल हार्दा समेत नआत्तिएका बालगोपालले बाँकी दुवै खेल जितेर सेमिफाइनल पुग्ने आत्मविश्वास देखाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org