ताजा समाचार

नेपालविरुद्ध माल्दिभ्सलाई अग्रता,पानीले खेल अवरुद्ध

ढाका  २७,भदाै। साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवातमै गोल खाएको छ ।

खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका हुन् ।

सुरुवाती समयमा नै खाएको गोलपछि नेपाल दबाबमा आएको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा सुरु भएको खेलमा नेपालको कप्तानी भरत खवासले सम्हालेका छन् । नेपाल माल्दिभ्सलाई पराजित गर्दै २५ वर्षे साफ इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिमा रहेको छ ।

तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २-० गोलको हार ब्यहोरेको थियो ।

माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । त्यस्तै, आजै दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तानबीचको खेल राति ७ बजे हुदैछ ।

पानीले खेल अवरुद्ध

नेपाल र माल्दिभ्सबीचको खेल चलिरहेका बेला ठूलो पानी परेपछि खेल स्थगित गरिएको छ । पानीसँगै हावाहुरी, चट्याङ परेपछि खेल स्थगित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org