ताजा समाचार

यसरी मनाउँदैछन् राष्ट्रकविले १०० औं जन्मदिन (तस्बिरहरु)

काठमाडौं ७,असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे आज (आइतबार) आफ्नो सयौं जन्मदिन मनाउँदैछन् । बिहानैदेखि लैनचौरस्थित घिमिरेको निवासमा शुभकामना दिन विभिन्न समूहहरु पुगिरहेका छन् ।

बिहान नै राष्ट्रपति विद्यादेवी भण्डारी पनि घिमिरेलाई शुभकामना दिन निवासमै पुगिन् । “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन्,” आफ्नो निवासमा पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि घिमिरेले भने, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।”

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहेका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर बिहान साढे ८ बजेदेखि आफ्नी श्रीमती महाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बसेका थिए ।
करीब १० मिनेटको भलाकुसारीमा उनीहरुबीच स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै उनलाई सुस्वास्थ्य, दीर्घायू र सिर्जनशील जीवनको शुभकामना दिइन् ।
निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गरेका सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गरिन् ।
दिउँसो लैनचौर ब्यांक्वेटमा परिवारद्वारा आयोजित सहस्र चन्द्रदर्शन कार्यक्रममा घिमिरे सहभागी भए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org