ताजा समाचार

छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को ट्रेलर सार्वजनिक(भिडियो सहित )

काठमाडाैँ ८,असोज । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को ट्रेलर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्देशित फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरी ट्रेलर देखाइनुका साथै प्रदर्शन मिति तोकिएको हो । पहिले दसैँका कुनै पनि दिन रिलिज हुने बताइँदै आइएको भए पनि अन्ततः छक्का पन्जा–३ घटस्थापनाको दिन अर्थात् २४ असोजमा प्रदर्शन हुने भएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका प्रमुख अभिनेता तथा निर्माता दीपकराज गिरीले तेस्रो संस्करण अझ धेरै अब्बल बनेको दाबी गरे । उनले यसपटक पनि आफ्नो फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । निर्देशक निरौलाले विगतका फिल्मभन्दा तेस्रो संस्करण अझ राम्रो बनाएकाले दर्शकको मन जित्ने बताइन् ।

फिल्मका मुख्य सबै कलाकार अटेको झन्डै तीन मिनेट लामो ट्रेलरमा कमेडीका साथै शिक्षा क्षेत्रको राजनीतिलाई प्रस्तुत गरिएको छ । पहिलाका फिल्मको ट्रेलरमा विषयवस्तु ‘सस्पेन्स’ राख्ने गरेको छक्कापन्जा टिमले यसपालि भने मुख्य विषयको भेउ दिएको छ । ‘कतिपयले हामीलाई कन्टेन्टमा फिल्म बनाएन भन्ने आरोप लगाउने गर्नुभएको’ बताउँदै निर्देशक निरौलाले भनिन्, ‘खासमा हामीले सधैँ कन्टेन्टमै फिल्म बनाएका छाैँ । तर, ट्रेलरमा भने नखुलाउने गरेकै हो । तर, यसपालि भने विषयवस्तुको हल्का छनक दिएका छौँ ।’ उनले आफ्नो फिल्मले मनोरञ्जनका साथै समाजोपयोगी सन्देश पनि प्रवाह गर्ने दाबी गरिन् ।

दीपकराज गिरी, नीर शाह, केदार घिमिरे, प्रियंका कार्की, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, बुद्धि तामाङ, दीपिका प्रसार्इं, जयनन्द लामा, विल्सनविक्रम राई, लक्ष्मी गिरी, शारदा गिरी, विमला गिरी, वर्षा राउत, संजोग कोइराला, स्वस्तिामा खड्कालगायत कलाकारले अभिनय गरेको फिल्म पुरुषोत्तम प्रधानले खिचेका हुन् । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । शनिबार बिहान सार्वजनिक ट्रेलर आइतबार साँझसम्म युट्युबमा ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

हेर्नुहोस भिडियो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org