ताजा समाचार

नेपालगन्जबाट आगामि जनवरीदेखि अन्तर्राष्ट्रिय उडान गरिने

काठमाडाैँ ११,असोज । एक वर्षभित्रै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्यका लागि नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्ने काम सुरु भएको छ । बुद्ध एअरले आगामी जनवरीबाट नेपालगन्ज–दिल्ली हवाई उडान सुरु गर्ने जानकारी गराएपछि सोही उडानको तयारीका लागि विमानस्थलको स्तरोन्नति सुरु गरिएको हो ।

नेपालगन्ज विमानस्थलबाट एक वर्षभित्रै अन्तर्राष्ट्रिय उडान गर्ने गरी पूर्वाधार निर्माणका काम सुरु गरिएको नागरिक उड्ययन कार्यालय नेपालगन्जका निर्देशक एवं विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनले सोही क्रममा अहिले विमानस्थलको नयाँ टर्मिनल भवन बनाउने काम अघि बढिसकेको जानकारी दिए । अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा ठूला जहाजका लागि पश्चिममा ३०० र पूर्वतर्फ २०० मिटर धावनमार्ग बढाउने तयारीका साथ काम सुरु भएको उनले बताए ।

मंसिरपछि कस्टम इमिग्रेसनको काम थाल्ने विमानस्थलको तयारी छ । यस्तै सेक्युरिटी एक्सरे मेसिन, पार्किङलगायत आवश्यक अन्य पूर्वाधारको काम पनि छिट्टै सुरु गर्ने बताइएको छ ।
यसैबीच भारतीय राजदूतावासले पनि नेपालगन्ज–दिल्ली उडानका लागि दिल्ली विमानस्थलमा समय निर्धारित गर्ने गृहकार्य भइरहेको जनाएको छ । केहीदिन अघि मात्र नेपालगन्ज आएका नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले दिल्ली विमानस्थलमा समय मिलाउने कार्य भैरहेको जनाउँदै यहाँस्थित विमानस्थलको छिटो भन्दा छिटो स्तरोन्नतिमा जोड दिएका थिए । राजदूत पुरीले पनि नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार हुने बित्तिकै दिल्लीबाट समय तोकिने बताएका थिए ।
नेपालगन्ज उपमहानरगपालिका वडा नम्बर २० को राँझामा रहेको उक्त विमानस्थल १ सय ६५ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपालगन्ज विमानस्थलबाट हाल काठमाडौंसहित सुर्खेत, डोल्पा, साँफेवगर, सिमीकोट र मुगुमा उडान हुँदै आएको छ । नेपालगन्ज–काठमाडौं त दिनमा करिब १२ वटा उडान हुँदै आएका छन् ।
नेपालगन्ज हुँदै हुम्लाको बाटो भएर ठूलो संख्यामा भारतीय पर्यटक कैलास मानसरोबरतर्फ जान थालेपछि थप उडानको माग बढ्दै गएको छ । त्यसलाई मध्ये नजर गरेर पनि विमानस्थलको स्तरोन्नति आवश्यक भएको हो ।
लुक्का जाने पर्यटकका लागि पनि यो विमानस्थल ट्रान्जिट बन्ने गरेको छ । नेपालगन्ज विमानस्थलको स्तरोन्नति भएर अन्तर्राष्ट्रिय उडान सुरु भएपछि समग्र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने स्थानीयको विश्वास छ । अहिलेबाटै होटल हव बन्दै गएको नेपालगन्जमा त्यसपछि होटल व्यवसाय झनै फस्टाउने निश्चित छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org