ताजा समाचार

कारागारबाटै अवैध धन्दा चलाए‍ भन्दै समीरमानलाई गरियो मुस्ताङ कारागारमा सरुवा

काठमाडाैँ १६,असोज ।   निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले कारागारभित्रबाटै ‘अवैध धन्दा’ चलाएको पाइएपछि उनलाई मुस्ताङ कारागारमा सरुवा गरिएको छ ।  गत मंसिरदेखि ललितपुरको नख्खु कारागारमा रहेका बस्नेतलाई सोमबार जहाजमाफर्त पोखरा हुँदै मुस्ताङ लगिएको हो ।

कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले  भने,‘‘कैदीबन्दीको सरुवा नियमित प्रक्रिया हो । यो विभागले गर्ने कुरा हो । बस्नेतलाई जहाँ उपयुक्त देखियो, त्यहाँ लगिएको हो । सुरक्षाव्यवस्था हामीले मिलाएका छौं ।’’
बस्नेतको योजनामा काठमाडौंको शान्तिनगरमा गौचनको गोली हानी हत्या गरिएको थियो ।

गतवर्ष असोज २३ गते घरबाट निस्कनासाथ गौचनलाई गोली हानिएको थियो । उपचारका क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको थियो ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट बस्नेतसहित मनोज पुनको समूहले गौचनको हत्या गरेको खुलेको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनको हत्यामा संलग्न भनिएका मनोज पुनको रुपन्देहीमा प्रहरी ‘इन्काउन्टर’ मा ज्यान गएको थियो भने बस्नेतलाई प्रहरी अधिकारीकै संरक्षणमा दिल्लीबाट काठमाडौं ल्याइएको थियो । तर, प्रहरीले बस्नेतलाई नेपालबाटै पक्राउ गरेको बताएको थियो ।

गौचनको हत्यामा संग्लन लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना र गंगा लिङ्देन अझै फरार छन् ।

समीरलाई काठमाडौंबाट मुस्ताङ कारागारमा सार्नुको कारण के हो त ?, स्रोत भन्छ– उनले कारागारभित्रैबाट गर्ने गतिविधि नै बढी शंकास्पद देखियो । नख्खु कारागारमा रहेका बस्नेत जेलमै बसेर ठेकदारहरुलाई धम्क्याएर रकम असुली गर्दै आएको पाइएपछि उनलाई सरुवा गरिएको हो ।”

‘‘कारागारमा समीरलाई भेट्न आउनेहरुको संख्या निकै थियो  । एकजना गुण्डा नाइकेलाई किन यति धेरै मान्छे भेट्न आउछन् भन्ने लागेर अनुसन्धान गर्दा उनले भित्रबाटै अबैध चन्दा असुली, ठेक्का, कब्जा लगायतका काम गरेको देखियो,’’ एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने । समीरले गौचनको हत्यामा संलग्न लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना, गंगा लिङदेनमार्फत नै अवैध धन्दा गर्दै आएको खुलेपछि त्यसको रिपोर्ट आइजीपी सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापासम्म पुगेको थियो । फरार रहेका चार जना भने अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि पनि काम गर्दै आएको प्रहरीको दाबी छ ।

उनीहरु भारतको दिल्ली हुँदै युएई र मलेसियाजस्ता स्थानमा आउने जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गौचनको हत्या योजना पनि पुन र समीरको समूहले भारतमै बसेर बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

स्रोतका अनुसार गृहमन्त्री थापाले समीरलाई भेट्न आउनेहरुको सूची नै अध्ययनका लागि मगाएका थिए । योसँगै केन्द्रीय कारागार सुन्धारामा रहेका अर्का गुण्डा नाइके रमेश बाहुन पनि जेल प्रशासनको मिलेमतोमा धन्दा चलाइरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । फरक–फरक जेलमा रहेका समीर र बाहुनको सम्बन्ध रहेको प्रहरी स्रोत बताउँछ ।

त्यही दोस्तीको फाइदा उठाउँदै उनीहरु दुवैले जेलबाटै अवैध कारोबार गर्न थालेपछि समीरको सरुवा गरिएको स्रोत बताउँछ । ‘‘मुस्ताङ सारेपछि बाहुन र समीरबीचको सम्बन्ध टुट्छ । सँगसँगै भेट्न पनि सहज हुँदैन । त्यसैले, उसलाई मुस्ताङ् लगिएको हो,’’ गृहका एक अधिकारीले भने ।

काठमाडौंबाट समीरलाई लैजाँदा उनकी पत्नी पनि सँगै गएको बताइएको छ ।  समीरलाई लैजाँदै गर्दा उनले भिडियो पनि बनाएकी थिइन् । कारागार सरुवा गर्ने चाल पाएपछि समीरले राष्ट्रिय मानवअधिकार आयोग लगायतका संस्थाहरुमा आफ्नो ज्यानमा खतरा बढेको जानकारी गराउन लगाएका थिए ।

त्यसो गर्दा आफ्नो सरुवा रोकिने अपेक्षा उनको भएको स्रोतले बताएको छ ।  गृहमन्त्री रामबहादुर थापाले १ सय दिन पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा कारागारभित्रबाटै डनहरुले अवैध धन्दा चलाइरहेको खुलासा गरेका थिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org