ताजा समाचार

विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटियो

४७५ को जुत्तालार्इ ३९०० !

मोरङ १९, असोज। विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेकाे अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो ।

खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ रुपैयाँ खरिद मूल्य रहेको जुत्ता ३९०० सयसम्ममा बिक्री भएको पाइएको छ । ग्राहकसँग चर्को मूल्य असुल्नेमा विराटनगर मेनरोडमा सञ्चालित साकेत ट्रेडर्स, ग्यालेक्सी मार्टलगायत छन् ।

ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय र साकेत ट्रेडर्सले ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ता १५८५ रुपैयामा बिक्री गरेको पाइएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।

अनुगमनका क्रममा ग्यालेक्सी मार्टले ४५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मूल्य १३७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४०० पर्ने पाइन्टमा १३०० बिक्रीदर टाँस गरेको भेटिएको छ ।

‘अनुगनका क्रममा ६ गुणासम्म बढी मूल्य राखेर कालोबजारी गरेको पाइयो’, दाहालले भने, ‘सात दिन भित्र दुवै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’

अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताए । ‘तत्कालै कालोबजारी नियन्त्रण गर्ने, निमिट्यान्न पार्ने भन्दा हामी फेल हुन सक्छौं’, उनले भने ‘ व्यापारीलाई सच्चिनु पर्छ भन्ने म्यासेज दिन खोजेको हौं ।’

अनुगमन टोलीले चर्को मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेका व्यापारीहरुलाई कागजपत्रसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

अनुगमन टोलीले गोल्छा डेरी उद्योगबाट उत्पादित सामग्रीको बिक्री वितरणमा समेत रोक लगाएको छ । डेरीका उत्पादनमा मिसावट हुने गरेको गुनासोपछि त्यहाँ पुगेको टोलीले नमूना संकलन गरेर बिक्री वितरणमा रोक लगाएको वाणिज्य कार्यालय, मोरङका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org