ताजा समाचार

नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढ्यो

गुल्मी१९ ,असोज। भदौ १ देखि नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएपछि गुल्मीमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढेको छ । जिल्ला अदालत गुल्मीको पछिल्लो तथ्यांकअनुसार सम्बन्धविच्छेदको माग गर्ने पुरुषहरुको संख्या धेरै छ ।

भदौ १ यता दर्ता भएको ३९ सम्बन्धविच्छेदका मुद्दामध्ये २१ वटा पुरुषले र १८ वटा महिलाले दर्ता गरेका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए । महिलाहरुले खान लाउन नदिएको, गाली गलौज र कुटपिट गरेको, पारिवारिक संरक्षण नभएको भन्दै सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् ।

पुरुषले भने श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र अनावश्यक मानसिक तनाव दिएको कारण देखाउँदै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए ।

अहिलेसम्म सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन । गत भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला भएपछि पुरुषहरुको संख्या बढेको श्रेस्तेदार बस्यालले बताए ।

जिल्ला अदालत गुल्मीले पछिल्लो तीन महिनामा लक्ष्य भन्दा बढी मुद्दाहरु फछ्र्यौट गरेको छ । पछिल्लो तीन महिनामा ९६ वटा मुद्दाहरु जिल्ला अदालतमा आएको श्रेस्तेदार बस्यालले बताए ।

अघिल्लो वर्ष १४७ सम्बन्धविच्छेद

गत आर्थिक वर्ष ०७४/७५ मा १४७ वटा सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालत गुल्मीमा दर्ता भएका थिए । जसमा १२८ मुद्दा फछ्र्यौट भएका छन् ।१९ जना मुद्दा प्रक्रियामै रहेको छ ।

गत आर्थिक वर्ष ०७४/७५ मा जबरजस्ती करणीका १७ मुद्दा दर्ता भएका थिए । जसमा एउटा हाडनाता करणीसमेत रहेको थियो ।

१७ मुद्दामा नौ वटा फछ्र्यौट भएको जिल्ला अदालतका सूचना अधिकारीसमेत रहेका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताए । ८ वटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org