ताजा समाचार

डोल्पा–जाजरकोट सडक ट्रयाक खुलेसगैं ,डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडियो

जाजरकोट २०,असोज । जाजरकोट–डोल्पा सडक खण्डको त्रिपुराकोट नगरपालिका–९ धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्र्याक खुला भएको छ ।

धाउनी–फूलपानी सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्र्याक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन् । सडक नपुग्दा यातायातका साधन नचलेपछि पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौदेखिकोे सडक सपना पूरा भएको छ ।

निर्माणाधिन सडक जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५०० मिटरको तरपरे भीर खण्डको ट्र्याक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वर्षौदेखिको सडकको सपना पूरा भएको हो ।

तरपरे भीरको ट्र्याक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्र्याक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सिधा ढुवानी साधनको रूपमा ट्याक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए ।

सदरमुकाम दुनै, विमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जीप तथा ट्याक्टर सञ्चालनमै आइसकेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–९ मा पर्ने फुलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआँगनमा पुगेको ट्याक्टर र जाजरकोट–डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई फूलमाला पहि¥याएर भव्य स्वागत गरेका छन् ।
जाजरकोट–डोल्पा नाम दिइएको भेरी करिडोर पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७ दशमलव ७ किमी सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट–डोल्पा मोटरबाटो निमार्ण कार्यदलका प्रमुख पहाडीले बताए ।

यस सडक खण्डको निर्माण कार्य पूरा भए पनि पुल अभावमा समस्या हुने देखिएको छ । करीब पाँचभन्दा बढी ठूला र अन्य साना पुल निर्माण नभएसम्म यस सडक खण्डमा स्थानीयवासीले सहजै यात्रा गर्न सक्ने अवस्था नहुने देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org