ताजा समाचार

तुलसीपुरमा नियमित विमान सेवा सुरु

दाङ २३,असोज । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुई पटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट व्यवसायीक उडान आरम्भ गरेको हो । सोमवारको पहिलो उडानमा सभामुख कृष्णबहादुर महरा काठमाडौंबाट तुलसीपुर आएका थिए ।

उडान आरम्भ गर्नका लागि सभामुख महरा, सांसद मेटमणि चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले पहल गरेका थिए । दशैंको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।

तुलसीपुरमा इन्धन डिपो नभएकाले तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

जहाजको टिकट काठमाडौंमा सुन्धारास्थित नेपाल वायु सेवा निगमको कार्यालयमा र दाङमा तुलसीपुर उपमहानगरपालिकामा पाइन्छ ।

२०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले बेला बेलामा सेवा दिए पनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा आरम्भ गरेको हो । धावन मार्ग साँघुरो भएका कारण तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अस्थायी रुपमा इन्धन डिपो स्थापनाका लागि सरकारले निर्णय गरिसकेको भन्दै दुई साताभित्रै अस्थायी इन्धन डिपो आइपुग्ने जानकारी दिए । अस्थायी डिपो स्थापना भएपछि अन्य विमान कम्पनीहरु आउनुका साथै भाडा दरमा पनि गिरावट आउने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org