ताजा समाचार

टी–२० विश्वकप छनोट :नेपालको फराकिलो जित, भुटान ३३ रनमा समेटियो

काठमाडाैँ २३,असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ। प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपालले मंगलबार भएको खेलमा भुटानलाई १ सय १७ रनले पराजित गरेको हो।

नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा अलआउट भयो।  भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बटुले। उनले १९ बलमा २ चौका हिर्काए। अन्य ब्याट्सम्यान नेपाली बलरसामू निरीह सावित हुँदा दोहोरो अंकमा रन जोड्न नपाइआउट भए। भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्केका थिए।

भुटानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट लिए। ललितले पहिलो ओभरमै २ विकेट लिएका थिए। उनले ४ ओभरमा २ मेडन राख्दा ४ रन मात्र खर्चिए। सन्दीपले पनि ४ ओभरमा २ मेडन ओभर फ्याँक्दा ६ रन खर्चिए। बसन्त रेग्मीले २ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए

टस हारेर पहिले ब्याटिङ  गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। नेपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारी शून्य रनमा आउट हुँदा अनिलकुमार साहले २७ रनको योगदान दिए। उनले २१ बलमा २ चौका र १ छक्का हिर्काए। आरिफ शेखले १५ बलमा १३ रन  र दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन जोडे। करण केसीले ५ बलमा नटआउट १० रन जोडे।

यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।


टी–२० विश्वकप छनोट : नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org