ताजा समाचार

बामदेवलाई जिताउन नसकिने तत्कालिन एमालेका जिल्ला अध्यक्षको प्रष्टोक्ति

काठमाडौं २४, असोज । सत्तारुढ नेकपाको पाँचौ बरियताका नेता वामदेव गौतमले काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गरिरहँदा पार्टीको ९ सदस्यीय हाइकमाण्डका अधिकांश नेताहरुले रहस्यमय मौनता साँधिरहेका बेला सातौं बरियताका ईश्वर पोखरेलले भने कुटनीतिक कटाक्ष गरेका छन् ।

सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको बरियतामा रहेका उपप्रधानमन्त्री तथा पार्टी हाइकमाण्डका सदस्य पोखरेलले प्रतिकात्मक रुपमा अध्यक्ष प्रचण्ड र बामदेव गौतमको आलोचना गरेका छन् । देशब्यापी रुपमा नेकपा कार्यकर्ता पंक्तिबाट बामदेवको चुनाव लड्ने चाहनाप्रति तीव्र आलोचना भइरहेका बेला पूर्व महासचिव समेत रहेका पोखरेलले मुख खोलेका हुन् ।

पोखरेलले बुधवार विहान फेसबुकमार्फत गौतम र प्रचण्डप्रति सांकेतिक कटाक्ष गर्दै प्रधानमन्त्री निवास बालुवार पुगेको स्रोतले जनाएको छ । पोखरेल बालुवाटार पुगेको केहीबेरमा बरिष्ठ नेता माधवकुमार नेपाल पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेपाल प्रवेश गरेलगत्तै महासचिव विष्णु पौडेल भने बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ ।

पोखरेलले बालुवाटार पस्नुअघि फेसबुकमा बामदेवको चुनाव लड्ने प्रसंगलाई प्रत्यक्ष रुपमा उल्लेख गरेका छैनन् । उनलाई चुनाव लडाउने प्रयासप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो प्रसंगलाई नै लिएर उनले आफ्नो धारणा प्रतिकात्मक रुपमा व्यक्त गरेको पोखरेल निकट स्रोतले जनाएको छ ।

पोखरेलले बिभिन्न भूमिका जोड्दै लेखेका छन्-…प्राप्त भएको उचाइसँगै चुनौतीहरु पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिबेला पनि हेक्का राख्नु जरुरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरुरी छ । हाम्रा राम्रा कुराहरुले हामी स्वयमले विकास गरेका राम्रा कुराहरुलेमात्र हामीलाई बचाउन सक्नछन् । हामी नयाँस्तरमा उठ्न सक्नेछौं ।

पोखरलले पार्टीभित्रका पूर्व माओवादी खेमाप्रति पनि तीव्र कटाक्ष गरेका छन् । उनले क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसँग आफूहरुले कुनै गोप्य साँठगाँठ नगरेको भन्दै प्रचण्डप्रति सांकेतिक प्रहार गरेका छन् ।

पोखरेलले भनेका छन्- हामी जनताले नरुचाएका वा जनतालाई हानी पुर्‍याउने रुमानी संघर्षमा रमाएनौं । हामीभित्र आत्मकेन्दि्रत जंगली महत्वाकांक्षा कहिले पनि झाँगिन पाएन, फल्न फूल्न पाएन । …हामीले क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहन चाहेनौं ।

पोखरेलले बामदेव गौतमप्रति संकेत गर्दै आफू सधैं पार्टीभित्र फूट, बिभाजन र विकृति विसंगतिको विपक्षमा उभिएको दावी गरेका छन् ।

पोखरेलले भनेका छन्- हामी यसक्रममा पार्टीभित्र देखापर्ने विकृति विसंगतीका विरुद्धमा जुध्यौं र त्यसका बाहकहरुलाई पराजित गर्दै अघि बढ्यौं । हामी एकताबद्ध हुने कुराको पक्षम उभिइरहृयौं, फूट विभाजनका विरुद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्‍यौं ।

नेकपा स्रोतका अनुसार बामदेव गौतम काठमाडौं ७ मा चुनाव लड्ने कुराप्रति सचिवालयमा ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । झलनाथ खनालले सो क्षेत्रका आफू निकट कार्यकर्तालाई फेान गरेरै गौतम चुनाव लड्ने वातावरण बनाउन निर्देशन दिएका छन् । माधव नेपालले मौनता साँधेका छन् भने प्रचण्डले बामदेवलाई चुनाव लड्ने वातावरण बनाइरहेका छन् ।

वामदेवलाई चुनाव लडाउने सन्दर्भमा केपी ओली निर्णायक पात्र हुन् । ओलीले चाहेमात्र आफू चुनाव लड्ने जानकारी गौतमले आफू निकट नेता कार्यकर्तालाई बुधवार विहान पनि गराएका छन् । ओलीका विश्वासपात्र रामवीर मानन्धर राजीनामा दिन तयार हुनु भनेको ओली बामदेवलाई चुनाव लडाउन तयार रहेको संकेतका रुपमा बुझ्नुपर्ने नेताहरुको भनाइ छ ।

तर पार्टीका अधिकांश नेता कार्यकर्ताले भने बामदेव जबरजस्ति काठमाडौंमा चुनाव लडेर सांसद हुन खोज्नु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिरहेका छन् । गौतमलाई काठमाडौंबाट चुनाव जिताउने जिम्मा लिन नसकिने तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष तथा काठमाडौं ३ का सांसद कृष्ण राईले बताएका छन् ।

उनले नेतृत्वले दुर्भाग्यपूर्ण कदम नचाल्ने विश्वास व्यक्त गरेका छन् । गौतम चुनाव लड्ने र रामवीरले राजीनामा दिनेबारेमा जिल्ला कमिटीलाई कुनै जानकारी नरहेको उनले बताए । राई तत्कालीन एमालेको जिल्ला अध्यक्ष हुन् भने रामवीर उपाध्यक्ष र विद्यासुन्दर शाक्य सचिव हुन् ।

उता काठमाडौं ७ बाटै निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य बसन्त मानन्धरले भने बामदेव चुनाव लड्ने कुराको स्वागत गरे पनि रामवीर मानन्धरको बार्गेनिङप्रति आपत्ति जनाएका छन् । उनले बामदेव जस्तो नेता चुनाव लडेमा आफूहरु जिताउन तयार रहेको तर रामवीरको मन्त्री, राष्ट्रियसभा सदस्य केन्द्रीय सदस्यको बार्गेनिङमा पार्टी नेतृत्व झुक्न नहुने बताएका छन् ।

ईश्वर पोखरेलको असन्तुष्टिपछि पार्टीभित्र बामदेव निकटकै नेताहरुले पनि उनलाई चुनाव नलड्न सुझाव दिएका छन् । पार्टीभित्रैको शक्ति उनलाई हराउन लाग्ने र बाहृय शक्ति एकजुट हुने निश्चित भएकाले जोखिमपूर्ण कदम नउठाउन गौतमलाई सुझाव दिइएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।

स्रोतका अनुसार गौतम दशैंअघि चियापान कार्यक्रमहरुमार्फत काठमाडौं क्षेत्र नम्बर ७ का कार्यकर्ता र जनताबीच जाने तयारीमा छन् । यसबीचमा चाडपर्वको बेला सघन रुपमा सो क्षेत्रमा गएपछिमात्र चुनाव लड्ने तयारी शुरु हुने गौतम निकट नेताहरुले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org