ताजा समाचार

क्रान्तिपछि प्रतिक्रान्तिको खतरा जहिले नि हुन्छ- अध्यक्ष प्रचण्ड

काठमाडाैँ २५,असोज । पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले पछिल्लो केही समयदेखि सरकार र नेकपाको काम कारबाहीबारे नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच गम्भिर ढंगबाट समीक्षा हुँदै आएको बताउँदै आएका छन् । १० वर्षे जनयुद्धको नेतृत्व गरेका उनै प्रचण्डसँग समसामयिक राजनीति, सरकारको कामकारबाही र उनको बारेमा बेला–बेला हुने गरेको आलोचनासँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।

एकीकरणपछि बनेको पार्टीरुपी विमानलाई दुईजना पाइलटले हाक्ने भनिएको थियो । तपाईको भूमिका त को–पाइलटको जस्तो देखियो नि ?
सरकारको प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीको भूमिका स्वत नै बढी देखिन्छ । अहिले छलफल गरेर हामीले के निष्कर्ष निकालेका छौँ भने संयुक्त अध्यक्षता गर्ने । जसलाई मेसो पर्छ उसैले सञ्चालन गर्दै आएका छौँ ।

तपाईको भूमिका सरकारको नेतृत्व गर्ने तहसम्म कहिलेसम्म पर्खिनुपर्ने हुन्छ ?
एउटै पार्टी भइसकेपछि हिजो दुईवटा पार्टी हुँदा जे समझदारी भएको थियो, त्यही मान्यता अनुसार नै पार्टी चलाउने, महाधिवेशन गर्ने, महाधिवेशनमा एउटा समझदारीमा जाने मुख्य कुरा हो । सरकारको नेतृत् वगर्ने कुरा त्यसै अन्तर्गत आउँछ ?

४ बुँदे सहमति गर्नुभएको रहेछ, त्यसलाई किन लुकाएको ?
लुकाएको भन्ने नै छैन । पार्टी एकता संयोजन समितिबाट नै निर्णय भएको कुरा लुकाएको भन्ने होइन । सरकारलाई अस्थिर बनाउने गरी नेतृत्व परिवर्तन गर्ने हाम्रो चाहना छैन ।

भनेपछि अढाई वर्षपछि पनि सरकारको नेतृत्व नफेरिन सक्छ ?
सहमति भयो भने केपीजीकै नेतृत्वमा ५ वर्ष सरकार चल्छ ।

तपाईलाई महाधिवेशनपछि अध्यक्ष बनाउने शर्तमा केपीजी ५ वर्ष प्रधानमन्त्री बनाउने हो ?
यो कुरामा अहिले छलफल चलेको छैन, त्यो महाधिवेशनसम्म जाँदा देशको परिस्थिति, पार्टीभित्र छलफल चल्दा कसरी अगाडि बढ्छ त्यसरी नै अगाडि बढ्ने हो ।

महाधिवेशनपछि तपाई अध्यक्ष पनि नबन्ने प्रधानमन्त्री पनि नबन्ने अवस्था आयो भने नि ?
त्यतिबेलाकै परिस्थितिमा छलफल हुन्छ त्यो विषयमा ।

त्यो विषय पार्टी एकताको भावना अनुसार हुँदैन कि ?
एकताको बेलामा गरेको समझदारी अनुसार त त्यो हुँदैन तर त्यो बेलाको परिस्थितिअनुसार जे गर्न पनि हामी तयार छौँ ।

भनेपछि केपी ओली र तपाईबीच यति धेरै घष्ठिता भइसक्यो र ?
घनिष्ठता नभएको भए पार्टी एकता नै हुँदैनथ्यो ।

तपाईकै पूर्व सहकर्मीहरुले झण्डै ०६० सालसम्म हामीलाई संघीयताको बारेमा त थाहै थिएन, पछि प्रचण्डजीले कहाँ ल्याउनुभयो हामीलाई थाहै भएन भन्नुभएको छ नि ?
यस्ता हावा कुरा गर्नेसँग त मेरो कुनै जवाफ नै हुँदैन । जतिबेला हामीले जनयुद्धको पहल गरेर एक वर्ष भएको थियो, त्यतिबेला नै नेपालको राज्यसंरचना र संविधानसभासँग सम्बन्धित र संघीयतासँग सम्बन्धित कुराको भु्रण त्यहीबाट शुरु भएको हो । र, आजसम्मको स्थितिमा हामी छौँ ।

तपाई व्यावहारिक रुपमा बिचलित त हुनुहुन्नथ्यो, सैद्धान्तिक रुपमा बिचलित भएपछि संसद्वादमा रुपान्तरण भएर एमालेसँग एकता भएको हो भनिन्छ नि ?
गलत कुरा हो । कोही पनि विवेकशील प्राणी संकीर्ण छैन भने उसले के देख्छ भने संविधानसभा र गणतन्त्रलाई संस्थागत गर्ने कुरा नै माओवादी आन्दोलनको मुख्य उपलब्धि हो । हेटौँडा महाधिवेशनमा गएर अबको आन्दोलन समाजवादतिर जानुपर्छ भन्ने सर्वसम्मत ढंगबाट निर्णय गर्यौ । हामी पनि समाजवादतिर जाने र शान्तिपूर्ण प्रतिष्पर्धा नै अबको बाटो हो भन्ने एमाले पनि समाजवादतिर जाने भन्ने निष्कर्ष भएपछि नै हाम्रो एकता भयो । वैचारिक रुपले नै एकमत भएपछि हाम्रो एकता सम्भव भएको हो ।

केपी ओलीभन्दा बढी क्रुर त प्रचण्ड देखिएको छ भन्ने विप्लवजीवहरुको आरोप छ नि ?
ठीकै छ नि, क्रुर देखिन्छ भने उहाँहरुले गर्न सक्ने त गरे हुन्छ नि । रोकेको छैन । उहाँहरुले मलाई बम हानेकै हुन् । ०७० को चुनावमा कञ्चनपुरमा बम हानेर मार्न खोजेकै हो । म केही सेकेण्डको अन्तरले बाँचेको हो ।

त्यो काम नेत्रविक्रम चन्दकै नेतृत्वमा भएको हो ?
त्यतिबेला मोहन वैद्य किरण, नेत्रविक्रम चन्द सँगै हुनुहुन्थ्यो ।

व्यावहारिक बिचलन/लवाई/खुवाईको कुरा गर्नुपर्दा ?
के खाने ? के लगाउने ? नाङ्गै हिड्नुपर्ने हो ? के भन्न खोज्या हो, मैले केही बुझेकै छैन ।

भाडाको घर खोज्दै जाँदा एकजना विवादित मान्छेको घरमा बस्दिने ?
के विवाद ? कसरी विवाद ? कहाँ के मुद्दा छ ? प्रचण्डसँग सम्बन्ध भयो भन्दैमा जो पनि विवाद बनाइदिने ? यो महारोग हो ।

द्धन्द्धकालीन मुद्दाको कारण विदेश जाँदा पक्राउ पर्न सक्ने एउटा, देशभित्रै पनि अख्तियारको फन्दामा पर्न सक्ने दुईवटा र आफ्नो राजनीतिक भविष्य नै सुरक्षित नहुने हो कि भन्ने चिन्ताको कारण पार्टी एकता गर्नुपर्ने बाध्यता थियो भन्छन् नि ?
यो आलोचनाका लागि गर्ने काम हो । हिजो नेपाली कांग्रेससँग एकता गर्दै सरकारको नेतृत्व गरी तराई मधेस र पहाडलाई मिलाएर चुनाव सम्पन्न गर्ने प्रक्रियामा लाग्दा शान्तिप्रक्रिया, जेनेभा लगायतका कुराहरु मिलाउन कांग्रेससँग प्रचण्ड मिलेको हो भन्ने कुरा पनि मिडियामा राम्रैसँग आएको हो । संघीयता लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गयो भने हामी यो आन्दोलनको नेतृत्वकर्ताको हैसियतले जनताले त्यसलाई सुरक्षा गर्छ, कसैले केही गर्न सक्दैन । यो परिवर्तनका एजेण्डाहरु उल्टिदै गयो भने नयाँ चुनौती खडा हुन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन खतरा छ ?
खतरा जहिल्यै हुन्छ । क्रान्तिपछि प्रतिक्रान्तिको खतरा जहिल्यै छ ।

प्रस्तुत अन्तर्वार्ता बिबिसी नेपाली सेवाको नेपाल समयको अडियोबाट हामीले साभार गरेका हौँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org