ताजा समाचार

अनिश नवौं लिगलिगे राजा

 

गोरखा । यसवर्षको लिगलिगे राजा पर्वतका अनिश थापा भएका छन्। गोरखा र लम्जुङको सिमानामा रहेको चेपे र मर्स्याङ्दीको दोभानदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर ५८.२५ मिनेटमा पार गर्दै थापा राजा भएका हुन् ।

१२२ जना धावकलाई पछि पार्दै उनी राजा बनेका हुन्। थापालाई श्रीपेच पहिराएर पालुंटार नगर परिक्रमा गराउने कार्यक्रम छ। एक वर्षका लागि राजा भएसँगै थापाले ६० हजार रुपैयाँ नगद पुरस्कार समेत पाए। ४०० वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौडको आयोजना गरेको अभियानले जनाएको छ।

यस्तो छ इतिहास

इतिहासअनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए। सोही इतिहासको सम्झनामा बिगत नौ वर्षदेखि लिगलिगकोट विकास अभियानले दौड प्रतियोगिताको आयोजना गर्ने गरेको छ।

को–को भए दोस्रो र तेस्रो

बाग्लुङका तीर्थ पुन दोस्रो र नेपाली सेनाका रामजी बस्नेत तेस्रो बन्न सफल भए। दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाए।

त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भइन्।  खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन पहिलो भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org