ताजा समाचार

आज महाअष्टमी, महाकालीको पूजा गरी मनाइँदै

काठमाडौँ । नवरात्रीको आठौँ दिन आज महाअष्टमी पर्व शक्तिस्वरूपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्री गर्ने चलन रहेको छ ।

आज दसैँ घर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ । मध्यराती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने चलन छ । पशुबली नचढाउनेहरूले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।

राजधानीको बसन्तपूरस्थित हनुमानढोकाको दसैँ घरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री लगायतका देवीहरूको पूजाआजा गरिन्छ ।

काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकालीलगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org