ताजा समाचार

‘छठसम्म पनि संविधान संशोधन नभए समर्थन फिर्ता लिन्छौं’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले उक्त भनाई राखेका हुन् ।

मण्डलले भने,‘स्वयम् प्रधानमन्त्रीजीले संविधान संशोधन गर्छु भनेर कन्भिन्स गर्नुभएको छ । हामीले संशोधनको लागि धेरै पटक सरकारसँग सम्झौता गरेका छौं । तर, अहिलेसम्म संशोधन भएको छैन । अहिलेपनि प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर हामीलाई कन्भिन्स गर्नुभएको छ। छठसम्म हाम्रो समर्थन जारी रहन्छ । छठपछि पनि संशोधन भएन भने हामी समर्थन फिर्ता लिएर आफ्नो तरिकाले अघि बढ्छौं ।’
मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको छ । जनताले धेरै ठूलो अपेक्षा राखेका थिए । तर, अहिले सरकारको प्रस्तुति हेर्दा सन्तोषजनक छैन । कर मनलाग्दी उठाउने गरेको छ । यसले जनतामा निराशा छाएको छ। करको बोझ अब जनताले धेरै व्यहोर्न सक्दैनन् । नेपालमा भ्रष्टाचार यसरी मौलाएको छ की संसारमै नेपाल भ्रष्टाचारमा पहिलो नम्बरमा छ । देशमा सुशासन छैन् । उथलपुथल देखिएको छ । अराजकता त्यस्तै बढिरहेको छ ।’
आफूहरूले पनि सरकारसँग धेरै आशा राखेको बताउँदै उनले भने,‘शान्ति स्थापना गर्नुपर्छ । यसो भयो भने विकासले तिव्रता लिन्छ । तर अहिले ठीक उल्टो भैरहेको छ । सरकारले यसमा विशेष ध्यान दिनुपर्छ ।’ ५१ प्रतिशत जनसंख्या ओगटेको तराई मधेशलाई कुनैपनि हालतमा उपेक्षा गर्न नहुने उनको भनाई छ । उनले भने,‘तराई मधेशलाई उपेक्षा गर्नुहुँदैन् । उपेक्षा गरियो भने शान्ति हुँदै्न । शान्ति भएन भने मुलुकको विकास हुँदैन् ।’
संविधानका विभिन्न धाराहरू अहिलेपनि विभेदकारी रहेको बताउँदै उनले त्यस्ता विभेदकारी धाराहरूलाई संशोधनमार्फत सच्याउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘संविधानको प्रस्तावना, धारा ४२ र धारा ५० मा समावेशी, समानूपातिकको बारेमा उल्लेख गरिएको छ। तर, कार्यकारी धाराहरू २६७, २७१, २७३, २८१, २८२ र २८३ र अन्यमा समेत समावेशी छ । तर, समानुपातिक उल्लेख गरिएको छैन । यो विभेदकारी भएकोले सच्याउनुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org