ताजा समाचार

अष्ट्रेलियाका प्रधानमन्त्रीले किन मागे क्षमा ?

अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबार यौन दुराचारबाट पीडित बनेका नागरिकहरू समक्ष राष्ट्रिय रूपमा सार्वजनिक क्षमा मागेका छन् । अष्ट्रेलियामा दशकौंअघि बिद्यालय, चर्च लगायतका संस्थाहरूमा भएका यौन दुराचारको घटनालाई लिएर पीडित समक्ष प्रधानमन्त्री मरिसनले राष्ट्रको तर्फबाट क्षमा मागेका हुन् ।

क्यानबेरामा रहेको संसद भवनमा पीडितहरु समेत सहभागी कार्यक्रममा मरिसनले आफूहरुले पीडितहरुको पीडा सुन्न, विश्वास गर्न र न्याय दिन असफल भएको बताउँदै क्षमा गरिदिन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा विपक्षी दलका लेबरका नेता बिल सर्टनले समेत पीडितहरू समक्ष सार्वजनिक रूपमा माफी मागेका थिए । मााफी माग्ने क्रममा प्रधानमन्त्रीका साथै अन्य नेताहरू भावुक समेत बनेका थिए ।

अष्ट्रेलियामा रहेका यस्ता संस्थाहरुमा बालिबालिकाहरूलाई यौन दुराचार भएको पीडितहरूले सार्वजनिक गरेपछि सरकारले रोयल कमिसन स्थापना गरेको थियो । रोयल कमिसनले लामो समयको अध्ययन र अनुसन्धानपछि सरकारलाई बिभिन्न सुझावहरु दिएको थियो ।

सोही सुझावका आधारमा राष्ट्रको तर्फबाट प्रधानमन्त्रीले क्षमा मागेका हुन् । अनुसन्धानका क्रममा कमिसनले २५ हजार बढी पत्र र ४० हजार बढी फोनकल पीडितहरुबाट प्राप्त गरेको थियो । अनुसन्धानपछि कमिसनले दिएको १ सय २२ वटा सुझावहरुमध्ये सरकारले १ सय ४ वटा सुझावलाई स्वीकार गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org